विद्युतीय भुक्तानी तीन गुणाले बढ्यो, मोबाइल बैंकिङ अग्रस्थानमा

काठमाडौं – विद्युतीय भुक्तानी कारोबार पछिल्लो समय तीव्र गतिमा वृद्धि भएको छ। मोबाइल र इन्टरनेटको पहुँच विस्तारले साना तथा ठूला कारोबारमा डिजिटल भुक्तानीलाई प्राथमिकता दिएको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा विद्युतीय भुक्तानी २.७५ गुणाले बढेर ९४ खर्ब ८६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै तीन गुणाले वृद्धि हो। गत वर्षको कात्तिकमा विद्युतीय भुक्तानी ३४ खर्ब ४६ अर्ब ८३ करोड रुपैयाँमा सीमित थियो।

राष्ट्र बैंकको तथ्यांकले विद्युतीय भुक्तानीका पूर्वाधार विस्तार, सेवा प्रदायकहरूबाट गरिएको प्रवर्द्धन, र डिजिटल प्रविधितर्फ सर्वसाधारणको आकर्षणले कारोबारलाई उच्च बनाएको देखाएको छ। पछिल्लो समय मोबाइल बैंकिङ, वालेट, क्यूआर कोड, कनेक्ट आइपीएस, तथा अन्य डिजिटल माध्यमहरूबाट हुने कारोबारको संख्या उल्लेख्य रूपमा बढेको छ।

मोबाइल बैंकिङ सबैभन्दा धेरै प्रयोगमा आएको छ। चालु आर्थिक वर्षको कात्तिकमा मात्रै मोबाइल बैंकिङमार्फत ४ करोड ३९ लाख पटकभन्दा बढी कारोबार भएको छ। त्यस्तै, क्यूआर कोडमार्फत १ करोड ९३ लाख पटक कारोबार भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगमा पनि वृद्धि देखिएको छ। डेबिट कार्डमार्फत कात्तिक महिनामा १ करोड ९ लाख पटक र क्रेडिट कार्डमार्फत २ लाख ७६ हजार कारोबार भएका छन्।

रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीले पनि ठूला भुक्तानीमा महत्वपूर्ण भूमिका खेलेको छ। कात्तिक महिनामा मात्रै आरटीजीएसमार्फत ७८ खर्ब १९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ, जुन गत वर्षको सोही अवधिमा २२ खर्ब ४७ अर्ब रुपैयाँ मात्र थियो। यसैगरी, इलेक्ट्रोनिक चेक क्लियरेन्स (इसीसी) प्रणालीबाट ४ खर्ब ३९ अर्ब रुपैयाँ र आइपीएसमार्फत १ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ।

मोबाइल वालेटको प्रयोग पनि उल्लेख्य रूपमा बढेको छ। कात्तिक महिनामा वालेटमार्फत ३७ अर्ब रुपैयाँको कारोबार भएको छ भने क्यूआर कोडमार्फत ६६ अर्ब ८७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ। डेबिट कार्डबाट ९४ अर्ब ५७ करोड रुपैयाँ बराबरको लेनदेन भएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, वालेट, क्यूआर कोड, आइपीएस तथा इलेक्ट्रोनिक चेक क्लियरेन्समार्फत भुक्तानीको रकममा उल्लेखनीय वृद्धि भएको छ। डिजिटल भुक्तानीमा देखिएको यो वृद्धिले नेपालमा विद्युतीय कारोबारप्रति बढ्दो विश्वास र पहुँचको संकेत गरेको छ।

प्रतिक्रिया