काठमाडौं — भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ भने ४६ जना घाइते भएका छन्। पाकिस्तानी सेनाले बुधबार बिहान पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिँदै क्षतिको विवरण सार्वजनिक गरेको हो।
भारतीय सेनाले बुधबार बिहान १ बजेपछि ‘अपरेसन सिन्दूर’ नाम दिइएको कारबाही अन्तर्गत पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर क्षेत्रमा आक्रमण गरेको हो। भारतले केही दिनअघि कश्मीरमा भएको आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएको घटनामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउँदै उक्त कारबाही गरेको जनाएको छ।
पाकिस्तानी सेनाले आक्रमणको प्रतिकार गर्ने क्रममा पाँच वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ। भारतले भने पाकिस्तानमा रहेको आतङ्ककारी सेल्टरमाथि आत्मरक्षाको आधारमा कारबाही गरिएको स्पष्ट पारेको छ।