अब स्वास्थ्य बीमा मोबाइलबाटै नवीकरण गर्न सकिने

अब स्वास्थ्य बीमाको नवीकरण मोबाइल वालेट र आइपीएस प्रणाली प्रयोग गरेर अनलाइनबाटै गर्न सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले नागरिक एपसँग सेवा लिंक गर्दै बीमा नवीकरणको प्रक्रिया सहज बनाएको हो। कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले यो नयाँ सुविधा सुरु गरिएको जानकारी दिएका छन्।

मोबाइलमार्फत अनलाइन नवीकरण गर्न सकिने भएपछि सेवाग्राहीलाई समय र प्रक्रियामा सहजता मिल्ने बोर्डको विश्वास छ। यसअघि यो सेवा केवल बीमा एजेन्टमार्फत उपलब्ध थियो, जसले गर्दा धेरैले समयमै नवीकरण गर्न नसकेको गुनासो आएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बीमालाई थप प्रभावकारी बनाउँदै नागरिकले आफू बसेकै ठाउँबाट सेवा लिन सक्ने व्यवस्था ल्याएका छन्। साथै, बीमा दर्ता गरेपछि तीन महिनासम्म कुर्नुपर्ने नियमलाई घटाएर एक महिनामा सेवा लिन सकिने व्यवस्था कार्यान्वयनमा आइसकेको छ।

स्वास्थ्य बीमाको अनलाइन नवीकरण पहिल्यै निर्णय भए पनि व्यवहारमा लागू भएको थिएन। अब भने नागरिकले सीधा मोबाइलमार्फत बीमा नवीकरण गर्न पाउने सूचना अधिकारी विकेस मल्लले जानकारी दिएका छन्। यसबाट बीमाको नवीकरण दरमा वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया