नेप्से २.३८% ले उकालो, लगानीकर्ता उत्साहित

काठमाडौं - लगातार ६ दिनसम्म गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ६२.२५ अंकले बढेको छ। नेप्से अघिल्लो दिनको तुलनामा २.३८ प्रतिशतले वृद्धि भई २,६७३.६९ विन्दुमा पुगेर बन्द भएको हो।

सेयर बजारमा पछिल्ला दिनहरुमा देखिएको निरन्तर गिरावटपछि लगानीकर्ता निरुत्साहित भएका थिए। तर बुधबार नेप्सेमा आएको उच्च बृद्धिले लगानीकर्तामा आशावाद देखिएको सेयर ब्रोकरहरूले बताएका छन्। लगातार घटेको बजारमा लगानीकर्ताले खरिद चाप बढाएका कारण नेप्से उकालो लागेको विश्लेषण गरिएको छ।

बुधबारको कारोबारमा २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ वटा कम्पनीको घटेको र एक कम्पनीको मूल्य स्थिर रहेको छ। कुल ९९ हजार ३०५ पटकको कारोबारमा २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि उल्लेखनीय रुपमा बढेको हो। मंगलबारको कारोबार ८ अर्ब ७४ करोड रुपैयाँ बराबरको थियो।

प्रतिक्रिया