भारत–पाकिस्तान तनावपछि नेपालमा सीमा सुरक्षा कडा

भारत र पाकिस्तानबीच चुलिंदो तनावलाई ध्यानमा राख्दै नेपाल सरकारले सीमा क्षेत्रमा सुरक्षा कडा पार्ने निर्णय गरेको छ। गृह मन्त्रालयमा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशको सुरक्षामा सम्भावित प्रभाव रोक्न उच्च सतर्कता अपनाउने निर्देशन दिएको हो। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा भारत-पाकिस्तानबीचको पछिल्लो तनावले नेपालमा पार्न सक्ने असरबारे छलफल भएको थियो।

बैठकले सीमावर्ती क्षेत्रमा निगरानी र जाँच प्रक्रिया थप कडाइका साथ लागू गर्न, अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचलाई अझ प्रभावकारी बनाउने, र अवैध घुसपैठ रोक्न समन्वयात्मक रणनीति अपनाउने निर्णय गरेको छ।

बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा, र नेपाली सेनाबाट बलाधिकृत रथी निर्मलकुमार थापा सहभागी थिए।

स्रोतका अनुसार सीमा क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाउन सर्कुलर जारी भइसकेको छ। साथै, तीनवटै सुरक्षा निकायलाई आपसी समन्वयमा रणनीति कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय