काठमाडौँ — यथार्थ जीवनमा मात्र होइन, सांगीतिक यात्रामा पनि सफल र प्रेरणादायी जोडीको रूपमा चिनिन्छन् गायक राजु ढकाल र गायिका देवी घर्ती। उनीहरू व्यक्तिगत जीवनमा जत्तिकै समर्पित छन्, त्यत्तिकै संगीतमा पनि गम्भीरता र मौलिकता प्रस्तुत गर्दै आएका छन्।
दुवैले युगल गीतहरू कम मात्रामा सार्वजनिक गरे पनि, सार्वजनिक भएका गीतहरूले भने सधैँ विशेष प्रभाव र माहोल सिर्जना गर्ने गरेका छन्। यसैको पछिल्लो उदाहरण हो — "खोली सलल"। छोटो समयमै व्यापक लोकप्रियता कमाउन सफल यस गीतप्रति दर्शकले ‘जति सुने पनि नअघाउने’ प्रतिक्रिया दिएका छन्।
देवी घर्ती मगरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा नविन रानाको शब्द, एचबिएन किस्मतको संगीत र एरेन्ज रहेको छ। प्रेमभावमा आधारित गीतलाई एक सातामै पाँच लाखभन्दा बढी पटक हेरिएको छ, जुन यसको लोकप्रियता दर्शाउने मुख्य संकेत हो।
गीतको भिडियोमा जेरी भण्डारीको कथा, कोरियोग्राफी र निर्देशन छ भने राजु ढकाल र देवी घर्ती आफैँले अभिनय र नृत्य गरेका छन्। गीतमा मायालु सम्बन्धभित्रका मनोभाव र गुनासाहरूलाई प्रभावशाली रूपमा प्रस्तुत गरिएको छ।
यो गीतले दर्शक तथा श्रोताहरूको मन जित्नुका साथै राजु र देवीको युगल उपस्थितिलाई अझ बलियो बनाएको छ।