काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि तिनलाई दीर्घकालीन रूपमा टिकाइराख्न चुनौतीपूर्ण रहेको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले काठमाडौं उपत्यकाभित्र जनशक्ति पर्याप्त भए पनि उपत्यकाबाहिर भने दरबन्दी अनुसारको जनशक्ति कार्यरत नभएकोप्रति चिन्ता व्यक्त गरे। उनले संघीय अस्पतालहरूमा चिकित्सकको अभाव उल्लेख गर्दै, उदाहरणस्वरूप नौवटा दरबन्दी रहेको एक अस्पतालमा मात्र एकजना मेडिकल सुपरिटेन्डेन्ट कार्यरत रहेको जानकारी दिए। मन्त्री पौडेलले जनशक्ति उत्पादनसँगै स्वदेशमै टिकाउने, ग्रामीण क्षेत्रमा काम गर्न प्रेरित गर्ने वातावरण बनाउनु आवश्यक रहेको बताए।
उनका अनुसार नागरिकमाथि आर्थिक भार नपर्ने किसिमले कम खर्चिलो स्वास्थ्य जनशक्ति उत्पादन प्रणाली आवश्यक छ। मुटु, मिर्गौला, क्यान्सरजस्ता गम्भीर रोगहरूको सेवा सबै प्रदेशमा विस्तार गरिएको भए पनि त्यहाँ सेवा दिन तयार हुने जनशक्ति पाउन कठिन भइरहेको भन्दै न्याम्सले यस सम्बन्धमा स्पष्ट नीति लिनुपर्नेमा उनको जोड थियो। प्रतिष्ठानले वीर अस्पतालको आधारमा विकास हुँदै ठूलो संख्यामा स्वास्थ्य जनशक्ति उत्पादन गरिरहेको उल्लेख गर्दै उनले भविष्यमा नेपालकै सबैभन्दा ठूलो स्वास्थ्य जनशक्ति उत्पादन गर्ने संस्थाको रूपमा प्रतिष्ठान स्थापित हुने विश्वास व्यक्त गरे।
राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले सरकारको आगामी नीति तथा कार्यक्रममा बिमा प्रणालीको पुनःसंरचना, प्रदेशमा गम्भीर रोगहरूको विशेष उपचार सेवा, र बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य सुनिश्चित गर्ने विषय समेटिएको बताए। उनले प्रस्तुत नीति कार्यक्रम कार्यान्वयन गर्ने अग्रणी संस्थाको रूपमा न्याम्सको भूमिका रहने विश्वास व्यक्त गरे।
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले प्रतिष्ठानले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तर सुधारका साथै अनुसन्धानमा पनि सक्रिय भूमिका खेलिरहेको बताए। उनले स्नातकोत्तर तहमा सिट संख्या उल्लेखनीय रूपमा वृद्धि गरिएको जानकारी दिँदै यस वर्ष २५० जना विद्यार्थी भर्ना गर्न सकिने अवस्था बनाइएको बताए। प्रतिष्ठानले हालसम्म ३,६८० विशेषज्ञ चिकित्सक उत्पादन गरिसकेको जानकारी पनि उनले दिए। वीर अस्पतालको जगमा स्थापना भएको यो प्रतिष्ठानले २४ वटा अस्पताललाई समेटेर सेवा विस्तार गरिरहेको छ, जसमा १२ वटामा विभिन्न 'फेलोसिप' कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।
वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार हाल अस्पतालले ७२ शय्याको आइसियूसहित ९६६ शय्यामार्फत सेवा दिइरहेको छ। उनले गत वर्ष बाहिरी उपचार सेवाबाट ६ लाखभन्दा बढी बिरामीले सेवा लिएको, आकस्मिक सेवामा ३६ हजारभन्दा बढी बिरामी आएको र २० हजारभन्दा बढी भर्ना भएर उपचार गरिएको जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चिकित्सा क्षेत्रमा विशेष योगदान दिएका वरिष्ठ चिकित्सक प्राडा सुदीपकुमार भट्टाचार्यलाई सम्मान गरिएको थियो। साथै, स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने डा. निशा खनाल, डा. मन्देश श्रेष्ठ र डा. शिव भण्डारीलाई तथा अनुसन्धानमा उत्कृष्टता देखाउने प्राडा रामहरि चापागाई र डा. विनिता अधिकारीलाई नगदसहित सम्मान गरिएको थियो।