काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (कक्षा १२) को परीक्षा यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। बोर्डले परीक्षा तालिका यथावत् रहने जानकारी गराउँदै सामाजिक सञ्जालमा अनधिकृत रूपमा बोर्डको लोगो प्रयोग गरी फैलाइएको भ्रामक सूचनामा नलाग्न सबैलाई आग्रह गरेको छ।
यसअघि वैशाख ११ गतेदेखि परीक्षा सुरु गर्ने तालिका सार्वजनिक गरिएको थियो। तर, नेपाल शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा सारिएको थियो। अब महासंघसँग सहमति भइसकेकाले निर्धारण गरिएका परीक्षा केन्द्रहरूबाट परीक्षा सञ्चालन हुने बोर्डले जानकारी दिएको हो।
बोर्डले आफ्नो कुनै आधिकारिक फेसबुक पेज नरहेको भन्दै आधिकारिक सूचना मात्र आफ्नो वेबसाइटमार्फत प्रकाशन हुने स्पष्ट गरेको छ। साथै, परीक्षा कार्य मर्यादित र प्रभावकारी रूपमा सम्पन्न गर्न सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सरोकारवालालाई सहयोग गर्न अपिल गरिएको छ।