देशभर आइतबारदेखि कक्षा १२ को परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुनेछन्। तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी छन्। परीक्षा सञ्चालनका लागि ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको छ।

विदेशस्थित जापानको एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी सोही विद्यालयबाट परीक्षा दिनेछन्। जिल्ला अनुसार हेर्दा सबैभन्दा कम परीक्षार्थी मनाङबाट ४५ जना र सबैभन्दा बढी काठमाडौंबाट ६८ हजार १ सय ३३ जना रहेका छन्। मनाङ र मुस्ताङमा १–१ परीक्षा केन्द्र र काठमाडौंमा १ सय ६२ परीक्षा केन्द्र तोकिएको छ।

जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षा व्यवस्थापनका लागि ४८ हजार २ सय ९ जना जनशक्ति खटिनेछन्। यसअघि वैशाख ११ देखि सुरु हुने भनिएको परीक्षा नेपाल शिक्षक महासंघको आन्दोलनका कारण १० दिन पछाडि सरेको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै परीक्षा शान्तिपूर्ण, मर्यादित, अनुशासित र विद्यार्थीमैत्री बनाउने अपिल गरेका छन्।

प्रदेशअनुसार हेर्दा कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८ सय ८८ र बागमती प्रदेशबाट सबैभन्दा बढी १ लाख ३५ हजार २ सय ४० परीक्षार्थी सहभागी हुँदै छन्। कोशी प्रदेशबाट ८२ हजार ८ सय ७१, मधेशबाट ६९ हजार ८ सय ८, गण्डकीबाट ४३ हजार ३ सय ४९, लुम्बिनीबाट ९० हजार ६ सय ७८ र सुदूरपश्चिमबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी परीक्षा दिन लागेका छन्।

परीक्षाको निगरानी तथा निरीक्षणका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ। परीक्षा अवधिभर केन्द्राध्यक्ष बाहेक अन्यलाई मोबाइल फोन लैजान प्रतिबन्ध लगाइएको छ।

कोभिड महामारीदेखि सुरु गरिएको विद्युतीय प्रणालीमार्फत प्रश्नपत्र पठाउने व्यवस्था यस वर्ष पनि निरन्तरता दिइएको छ। परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि केन्द्राध्यक्षले युजर आईडी प्रयोग गरी प्रश्नपत्र डाउनलोड गर्ने व्यवस्था मिलाइएको छ, जुन प्रहरीको रोहबरमा मात्र छपाइ गरिनेछ।

बोर्डले परीक्षा केन्द्र निर्धारण, केन्द्राध्यक्षको गोष्ठी, सुरक्षा निकायसँग समन्वय, गोप्य सामग्री व्यवस्थापनलगायत तयारी पूरा गरेको जनाएको छ। ‘लेटर ग्रेडिङ’ निर्देशिका २०७८ अनुसार प्रत्येक विषयमा कम्तीमा ३५ प्रतिशत सैद्धान्तिक अंक नल्याए ‘ननग्रेडिङ’ हुनेछ।

यसैबीच, शिक्षक आन्दोलनका कारण रोकिएको एसईईको उत्तरपुस्तिका परीक्षण पनि सुरु भएको बोर्डले जनाएको छ। चैत १८ मा परीक्षा सकिएपनि उत्तरपुस्तिका परीक्षणमा झन्डै तीन साता ढिलाइ भएको हो। बोर्डले असार पहिलो साता नतिजा प्रकाशित गर्ने लक्ष्य बनाएपनि केहि ढिलाइ हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया