किन समायो रेशम चौधरीलाई प्रहरीले ?

काठमाडौं  । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग एकता घोषणा गर्न काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुगेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले  चौधरीलाई सर्वोच्च अदालतको आदेशअनुसार टीकापुर घटनासम्बन्धी फैसलाको कार्यान्वयनका लागि पक्राउ गरिएको जानकारी दिएका छन्। पक्राउपछि चौधरीलाई डिल्लीबजार कारागार लगिएको छ।

बुधवार दिउँसो जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा हुने कार्यक्रम तय भएको थियो। एकता कार्यक्रममा सहभागी हुन दुवै पार्टीका नेता तथा कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भइसकेका थिए।

२०७२ सालमा कैलालीको टीकापुर घटनामा संलग्न रहेको आरोपमा चौधरीले जेल जीवन बिताएका थिए। उनलाई २०८० साल जेठमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिइएको थियो। तर सो आममाफीविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

रेशम चौधरीको पक्राउसँगै नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता प्रक्रियामा अन्योल र राजनीतिक सन्देश उत्पन्न भएको छ।

प्रतिक्रिया