कोभिडको कारण हवाई कम्पनीले साढे १७ अर्ब गुमाए

काठमाडौं–कोभिड–१९को कारण मानव जीवनसँगै अर्थतन्त्रमा ठूलो क्षती पुगेको छ । त्यसमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको छ । कोभिडको कारण आन्तरिक र बाह्य उडान नहुँद्या नेपालका वायु सेवा कम्पनीले करिव साढे १७ अर्ब रुपैयाँ गुमाएको एक अध्ययनले देखाएको छ ।सरकारी लगानीको नेपाल वायुसेवा निगमले अघिल्लो वर्षको तुलनामा ५ अर्ब रुपैयाँ, हिमालय एयरलाइन्सले २ अर्ब गुमाएका छन् ।

कोभिडले सन् २०२० मा हवाई यात्रुको संख्यामा भारी गिरावट आएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र निजी क्षेत्रका विमान कम्पनीले १७ अर्ब ६४ करोड रुपैयाँ गुमाएका छन् । सन् २०१९को तुलनामा आम्दानी घटेको हो । अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या अघिल्लो वर्षको तुलनामा ७२ प्रतिशतले कमी आएको थियो । आन्तरिक उडानतर्फ सन् २०१९ को तुलनामा ६४ प्रतिशतले यात्रु घटेका छन् ।

अन्तर्राष्ट्रिय उडान भर्ने दुई कम्पनीले सात अर्ब रुपैयाँ र आन्तरिक उडान गर्ने एयरलाइन्सहरूले १० अर्ब ६२ करोड आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण्का महानिर्देशक राजन पोखरेलका अनुसार सन् २०२० को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ३० हजार २ सय ९६ जनाले यात्रा गरेका छन् । जुन अघिल्लो वर्ष ३१ लाख ८८ हजार ४ सय ७९ जनाले यात्रा गरेका थिए ।

निजी बायु सेवा कम्पनी मध्ये आन्तरिकतर्फ सबैभन्दा बढी क्षती बुद्ध एयरले व्यहोरेको छ । अघिल्लो वर्षको तुलनामा बुद्ध एयरको आम्दानी ३ अर्ब ६० करोड रुपैयाँले घटेको छ । त्यसैगरी, श्री एयरलाइन्सले २ अर्ब रुपैयाँ, यति एयरलाइन्सको १ अर्ब ५० करोड रुपैयाँ, सिम्रीक एयरको ८५ करोड, मनाङ एयरको ३५ करोड, कैलाश हेलिकप्टरको ३४ करोड रुपैयाँ गुमाएका छन् । त्यसैगरी, एयर डिनास्टी र मोउन्टेन हेलिकप्टरले ६० करोड , फिस्टेल एयरले २७ करोड, हेली एभरेष्ट र अल्टिच्युड एयरले ५० करोड, सिम्रिक एयरलाइन्सले २० करोड, प्रभु हेलिकप्टरले १० करोड, समिट एयरले ११ करोड, सिता एयरले १५ करोड रुपैयाँ गुमाएको अध्ययनले देखाएको छ । महामारीले नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानी पनि यो वर्ष ८० प्रतिशतले घटेको छ ।

प्राधिकरणले सन् २०२० मा ५ अर्ब ६९ करोड आम्दानी घटेको छ । प्राधिकरणले आर्थिक वर्ष ०७६÷७७ मा विमानस्थल विकास शुल्कबाहेक ८ अर्ब ३३ करोड १३ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको थियो । तर, ३१.५५ प्रतिशतले घट्न गई ५ अर्ब ७० करोड ३१ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । विकास शुल्कतर्फ २ अर्ब २१ करोड २८ लाख रुपैयाँ प्रक्षेपण गरिएकोमा ६२ प्रतिशत घटेर ८४ करोड ६ लाख मात्रै आम्दानी भएको थियो ।

प्रतिक्रिया