बागलुङ — पुरुष तयारी पोशाकमा चर्चित नेपाली ब्राण्ड ‘एनएचएनबि’ (एन हम्बल न्यू बिगिनिङ) ले बागलुङमा आफ्नो चौथो शाखा विस्तार गरेको छ। क्लासिक कलेक्शनसँगको सहकार्यमा सुरु भएको यो शाखाको औपचारिक उद्घाटन उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बिहीबार एक समारोहका बीच गरेका हुन्।
ब्राण्डका संस्थापक आकाश श्रेष्ठले अमेरिका फर्किएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ ब्राण्डको सुरुवात गरेका थिए। उनले बागलुङजस्ता स्थानहरूमा ब्राण्ड विस्तार गर्दै देशमै रोजगारी र व्यवसायको अवसर सृजना गर्ने प्रयास गरिरहेको बताए। कम्पनीले विश्व बजारका पछिल्ला फेसन ट्रेन्डलाई ध्यानमा राखेर पुरुष तयारी पोशाक उत्पादन गर्दै आएको जानकारी दिएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष शाक्यले युवाहरू विदेशबाट फर्केर नेपाली ब्राण्डमार्फत व्यवसायमा लाग्नु सुखद संकेत भएको उल्लेख गरे। उनले यस्तो प्रयासले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने धारणा राखे।
क्लासिक कलेक्शनका सञ्चालक तथा ‘एनएचएनबि’ का बागलुङ शाखा विक्रेता इश्वर खत्रीले विगत १० वर्षदेखि बागलुङमा व्यवसाय गर्दै आएको जानकारी दिए। केही समय वैदेशिक रोजगारीमा रहे पनि स्वदेशमै केही गर्ने लक्ष्यसाथ व्यवसाय थालेको उनले बताए। अब ब्राण्डसँग आबद्ध भई व्यवसायलाई थप व्यवस्थित बनाएको उनले उल्लेख गरे।
पहिले महिलाका तयारी पोशाक बिक्री गर्दै आएको क्लासिक कलेक्शनले अब एनएचएनबि ब्राण्डमार्फत पुरुष तयारी पोशाक पनि बिक्री गर्न थालेको छ। संचालक खत्रीका अनुसार करिब ४० लाख रुपैयाँको लगानीमा यो नयाँ व्यवसाय सञ्चालन गरिएको हो।