चितवन — कालिका नगरपालिका–६ स्थित सिद्धि विनायक आवासीय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत नतिजा हासिल गर्दै नगरकै एकमात्र विद्यालयको रूपमा ऐतिहासिक सफलता प्राप्त गरेको छ। विद्यालयबाट परीक्षा दिएका ४५ जना विद्यार्थी सबै उत्तीर्ण भएका हुन्।
विद्यालयका प्राचार्य विष्णुमणि लामिछानेका अनुसार, उत्तीर्ण विद्यार्थीमध्ये १२ जनाले ३.६१ देखि ४.००, १६ जनाले ३.२१ देखि ३.६०, १६ जनाले २.८१ देखि ३.२० र १ जनाले २.११ देखि २.८० जिपीए ल्याएका छन्। यस उपलब्धिलाई सम्मान गर्न विद्यालयले सोमबार विशेष कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई बधाई अर्पण गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले विद्यालयको सफलता नगरको शैक्षिक गौरवको प्रतीक भएको बताउँदै सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रममा ४५ वटै उत्तीर्ण विद्यार्थीलाई खादा लगाएर सम्मान गरिएको थियो।
कार्यक्रममा प्राचार्य लामिछानेले विद्यालयको गुणस्तरीय शिक्षातर्फको प्रतिबद्धता र विद्यार्थीहरूको सर्वांगीण विकासमा निरन्तर लागिरहेको बताएका थिए। उनले आधारभूत तहको परीक्षा (BLE) मा पनि विद्यालयले ४.० जिपीएको साथ सर्वोत्कृष्ट नतिजा ल्याएको जानकारी दिए। साथै, कक्षा ११ मा कम्प्युटर विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषय सञ्चालन हुँदैछ भन्ने जानकारी दिँदै, असार २१ गतेबाट प्रवेश परीक्षा हुने जनाएका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी लामिछानेले यो सफलता शिक्षक, अभिभावक र समुदायको संयुक्त प्रयासको परिणाम भएको बताए। कार्यक्रममा वडाध्यक्ष टीकाराम रेग्मी, सन्तवीर स्याङ्तान, मकरमान श्रेष्ठ, बजार व्यवस्थापन समितिकी अध्यक्ष सविता वाग्ले, शिक्षक–अभिभावक संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
विद्यार्थीहरूले यस सफलतालाई आफ्नो शैक्षिक यात्राको प्रेरणादायी मोडको रूपमा लिएर आगामी कक्षामा अझ मेहनत गर्ने प्रतिबद्धता जनाएका थिए।