८३ जना सांसदको निवेदन दर्ता गरेको भए दुर्घटना हुन्थ्यो -राष्ट्रपतिका सल्लाहकार डा. यादव

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले राष्ट्रपति कार्यालयले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ नेकपाकै ८३ जना सांसदहरुको निवेदन दर्ता नगरेर मुलुकलाई ठूलो राजनीतिक संकट र दुर्घटनाबाट बचाएको स्पष्ट पारेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । संसदको विशेष अधिवेशन बोलाउन माग गरेका ८३ जना सांसदको हस्ताक्षरसहितको निवेदन दर्ता गरेको भए मुलुकमा राजनीतिक दुर्घटना हुने थियो भन्ने यादवको दाबी छ ।

उनले राष्ट्रपतिलाई दलका नेताहरु भेट्न जानु नौलो कुरा नभएको बताए । उनले भने,‘आफू आफूमा झगडा गर्ने, आँफै भेट्न जाने । नेपाली कांग्रेसका नेताहरुपनि जानुभाछ । रामचन्द्रजी जानुभाछ । पशुपतिजी जानुभाछ । उहाँहरु भेट्न जाँदा चाहीँ राजनीतिक नहुने !’ उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षीबाट विरोध नभई आफ्नै दलबाट विरोध भएको पनि गुनासो पोखे । उनले भने,‘नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरेकै हो । सरकारलाई सबभन्दा बढि आफ्नै पार्टीबाट डिस्टर्ब भएको छ । अहिले जतिपनि केपी ओलीको विरोध भैरहेको छ, यो सब जनताको लागि हो कि ? संविधानको लागि हो कि ? समृद्धिको लागि हो कि ? उखु किसानको लागि हो कि ? वा के को लागि हो ? हेर्नुहोस, राजनीति त नेपालमा व्यक्तिगत स्वार्थमा भयो । यसो भयो भने न मुलुकमा सुशासन हुन्छ । न समृद्धि हुन्छ ।’

संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै ८३ जना सांसदहरुको हस्ताक्षरसहित जाँदापनि किन समावेदन दर्ता भएन ? भनेर सोधेको प्रश्नमा उनले भने–‘उहाँहरु एकैचोटी जानुभयो । तर, उहाँहरु शितलनिवासमा हुँदा फोनमा आउन थाल्यो कि सहमति भैसकेको छ, अब विशेष अधिवेशन बोलाउन पर्दैन भनेर । आफ्नो पार्टीको सरकारलाई आफ्नै पार्टीका सांसदले संसद अधिवेशन बोलाउनुपर्ने यो अनौठो भयो । उहाँहरुको निवेदन दर्ता भएको भए मुुलुकमा राजनीतिक संकट उत्पन्न हुन्थ्यो । बरु, नेपाली कांग्रेसले धैर्यता देखाईरहेको छ ।’

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश संविधान र लोकतान्त्रिक पद्धतीको खिलाफमा भएकोले त्यो फिर्ता र निस्क्रिय हुनुपर्ने बताएका छन् । उनले भने,‘त्यो अध्यादेश संविधानको मर्म र भावनाको खिलाफमा छ, लोकतन्त्र पद्धतीको खिलाफ हो । अर्को कुरा, यो अपारदर्शी ढंगले विद्येयक आएको छ । यसमा हाम्रो विरोध छ । असहमति छ । हमीले विद्येयक फिर्ता र निस्क्रिय पार्नुपर्छ भनेका छौं । शक्ति सन्तुलन गर्न सकियोस भनेर नै परिषदको यस्तो बनावट राखेको हो । संवैधानिक निकाय या आयोगहरु मुलकुको शक्ति पृथीकरणसँग जोडिएको विषय हो । ६ जना बसेर गर्नुपर्ने निर्णयलाई २ जनाले मात्रै गर्ने भनेर संशोधन गर्नु भनेको संविधान संशोधन गरेजस्तै हो ।’

उनले राष्ट्रपतिको भूमिकालाई लिएर आलोचना भैरकेकोप्रति टिप्पणी गर्दै भने,‘प्रधानमन्त्री कार्यकारी प्रमुख हो । राष्ट्रपति संवैधानिक, आलंकारिक हो । उहाँलाई कार्यकारी अधिकार छैन् । राष्ट्रपति आँफैले कुनैपनि कार्यकारी निर्णय गर्न मिल्दैन् । अहिले जुन यो अध्यादेश राष्ट्रपतिले पास गर्नुभयो, यसमा दोष उहाँलाई दिनुहुँदैन् । यो सरकारकै दोष हो । राष्ट्रपतिलाई ज्यादा विवादित पारेपनि सरकारकै दोष हो । मेरो अनुकुल हुँदा गरिदिए हुन्थ्यो, अनुकुल नहुँदा नगरिदिए हुन्थ्यो भन्ने होईन् । उहाँले त सरकारको सिफारिश अनुसार निर्णय गर्नुहुन्छ । राष्ट्रपतिले कुनै अध्यादेश रोकेर राख्नुहुन्न ।’

उनले राष्ट्रपतिलाई विवादमा ल्याउने खतरा औंल्याउँदै सबैले विवकेशील ढंगले रोक्नुपर्ने तर्क गरे । उनले भने,‘नेकपाका ८३ जना सांसदहरुको हस्ताक्षरसहित साथीहरु संसदको विशेष अधिवेशन बोलाउन जानुभयो, सचिव हराउनुभयो । यो त्रुटि हो । बास्तवमा संसदको अधिवेशन दलगत रुपमा माग गर्नुपर्ने होईन्, संसदको एक चौथाई सांसदले माग गर्दा हुन्छ । दल हेरेर बस्न मिल्दैन् । सरकार बहुमत र अल्मतमा छ भनेर राष्ट्रपतिले जाँच्ने होईन् । राष्ट्रपति कार्यालय मुलुकको सर्वोच्च संस्था हो । यसलाई विवादमा ल्याउनुहुँदैन् ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पार्टीभित्रको विवाद हल हुने र पार्टी एकताबद्ध ढंगले अघि बढ्ने दाबी गरेका छन् । उनले नेताहरुबीच सघन छलफल तथा वार्ता भैरहेकोले विवाद छिट्टै हल हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे । उनले भने,‘हामी पार्टी विवाद मिलाउनको लागि समन्वय गरिरहेका छौं । यसअघिपनि गरेकै हो । विवाद मिलाउनको लागि हामी कोशिस गरिरहेका छौं । मुख्य कुरा पार्टीलाई विधि÷पद्धती ढंगले चलाउन लागेका छौं । विधि र पद्धती कायम गर्दै अग्रगमन कायम गर्दै अघि बढ्ने कुरा मुख्य कुरा हो । नेताहरुबीच कुरा मिल्छ । पार्टीभित्र विवादका घट्ना धेरैपटक भैसकेको छ । यो घट्ना पनि साम्य हुन्छ ।’

प्रतिक्रिया