काठमाडौँ । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन गरिने भएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरी सङ्कलन प्रक्रिया अघि बढाउन लागेको हो ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०७२ चैत २६ गते प्रकाशित सूचनाका आधारमा टोल शुल्क उठाउन लागिएको आयोजनाले जनाएको छ ।
निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, मिनीबस तथा मिनी ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ ।
सिङ्गल रियर एक्सल भएका बस तथा ट्रकले काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । मल्टि एक्सल ट्रक, अन्य भारी सवारीसाधन तथा भारी उपकरणका लागि काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
कात्तिक १५ गतेदेखि लागू हुने यो व्यवस्थाअनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आफ्नो वर्गअनुसार निर्धारित शुल्क बुझाउनुपर्नेछ ।