☰

तीन महिनामै ७ खर्ब ६१ अर्बको वैदेशिक व्यापार, भारतसँग सबैभन्दा ठूलो घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापारमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.०३ प्रतिशत बढी हो ।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालबाट ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए । गत आर्थिक वर्षमा कुल निर्यात ३ खर्ब १५ अर्ब रुपैयाँभन्दा माथि पुगेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा देखिएको वृद्धिले निर्यात व्यापारमा थप विस्तार हुने संकेत गरेको छ ।

निर्यातसँगै आयातमा पनि उच्च वृद्धि भएको छ । चाडपर्वका कारण बजारमा माग बढ्दा असोज महिनामा मात्रै २ खर्ब ४५ अर्ब २६ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् । यससँगै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल आयात ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको ४ खर्ब ६८ अर्ब रुपैयाँको तुलनामा ३८.१८ प्रतिशत बढी हो ।

आयात र निर्यात दुवै बढेपछि पहिलो त्रैमासमा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार ५ खर्ब ४० अर्ब रुपैयाँ बराबर थियो । यसअनुसार कुल वैदेशिक व्यापारको आकार ४०.७१ प्रतिशतले विस्तार भएको छ ।

तर, निर्यातमा भएको वृद्धिका बाबजुद आयातको आकार ठूलो हुँदा व्यापार घाटा पनि बढेको छ । असोज मसान्तसम्म व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ९५ अर्ब रुपैयाँ रहेको व्यापार घाटा यस वर्ष ३४.७१ प्रतिशतले बढेको हो ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढेर १५.०२ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८४.९८ प्रतिशत कायम भएको छ । यसले नेपालको वैदेशिक व्यापारमा आयातको निर्भरता अझै उच्च रहेको देखाउँछ ।

आयातमा इन्धन र वनस्पति तेलको कच्चापदार्थ अगाडि

पहिलो तीन महिनामा नेपालले सबैभन्दा धेरै रकम इन्धन आयातमा खर्च गरेको छ । भन्सार विभागका अनुसार यस अवधिमा १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको इन्धन आयात भएको छ । त्यस्तै, ६६ अर्ब ६६ करोड रुपैयाँ बराबर वनस्पति तेलको कच्चापदार्थ भित्रिएको छ ।

सवारीसाधन तथा तिनका कच्चापदार्थको आयातमा ५३ अर्ब १९ करोड रुपैयाँ खर्च भएको छ । मेसिन तथा यान्त्रिक पार्टपुर्जामा ४२ अर्ब ११ करोड, विद्युतीय उपकरणमा ४० अर्ब ८४ करोड र फलाम तथा स्टिलको आयातमा ३९ अर्ब ३७ करोड रुपैयाँ बाहिरिएको छ । यस अवधिमा मल आयातमा ३२ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको विभागको तथ्यांक छ ।

वस्तुगत विवरणअनुसार कच्चा सोयाबिन तेल सबैभन्दा धेरै आयात हुने वस्तु बनेको छ । पहिलो तीन महिनामा ५२ अर्ब ६० करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको छ । त्यस्तै, ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरको डिजेल, २४ अर्ब ६२ करोडको पेट्रोल र २३ अर्ब १८ करोड रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

यस अवधिमा १९ अर्ब ३० करोड रुपैयाँ बराबरको रासायनिक मल र १८ अर्ब ८१ करोड रुपैयाँ बराबरका स्मार्टफोन नेपाल भित्रिएका छन् । सुनको आयात पनि ३ अर्ब रुपैयाँ बराबर रहेको छ ।

निर्यातमा वनस्पति तेलको ठूलो हिस्सा

नेपालको निर्यात व्यापारमा वनस्पति तेलको हिस्सा सबैभन्दा ठूलो देखिएको छ । पहिलो तीन महिनामा ५९ अर्ब ३२ करोड रुपैयाँ बराबरको वनस्पति तेल निर्यात भएको विभागको तथ्यांक छ ।

निर्यात हुने अन्य प्रमुख वस्तुमा धागो, चिया, कफी, मसला तथा कार्पेटजन्य सामग्री रहेका छन् । यस अवधिमा ४ अर्ब ९७ करोड रुपैयाँ बराबरको धागो, ४ अर्ब ६५ करोडको चिया, कफी तथा मसला र ३ अर्ब ७२ करोड रुपैयाँ बराबरका कार्पेटजन्य वस्तु निर्यात भएका छन् ।

वस्तुगत विवरणमा कच्चा सोयाबिन तेलको निर्यात ५२ अर्ब ६० करोड रुपैयाँ बराबर रहेको उल्लेख छ । त्यस्तै, कार्पेट तथा अन्य कपडाजन्य सामग्री ३ अर्ब ३२ करोड, जुट २ अर्ब ९६ करोड र अलैँची २ अर्ब ५७ करोड रुपैयाँ बराबर निर्यात भएको छ । सूर्यमुखी फूलको तेल २ अर्ब ५३ करोड र पाम तेल २ अर्ब ४२ करोड रुपैयाँ बराबर निर्यात भएको विभागको तथ्यांक छ ।

भारतसँग सबैभन्दा ठूलो व्यापार घाटा

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत रहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भारतबाट ३ खर्ब ६६ अर्ब रुपैयाँ बराबरका वस्तु आयात भएका छन् भने नेपालबाट भारततर्फ ९५ अर्ब ५९ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन् । यससँगै भारतसँगको व्यापार घाटा २ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ ।

चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदारका रूपमा रहेको छ । चीनबाट १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरका वस्तु आयात हुँदा नेपालबाट चीनतर्फ ६७ करोड रुपैयाँ बराबरका वस्तु मात्रै निर्यात भएका छन् ।

त्यस्तै, अर्जेन्टिना नेपालको तेस्रो ठूलो व्यापार साझेदार बनेको छ । अर्जेन्टिनाबाट पहिलो तीन महिनामा ३५ अर्ब ६५ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् । त्यहाँबाट मुख्यतः वनस्पति तेल उत्पादनमा प्रयोग हुने कच्चापदार्थ आयात गरिन्छ, जसलाई प्रशोधन गरेर तयारी तेलका रूपमा निर्यात गर्ने गरिन्छ ।

साउदी अरबबाट ११ अर्ब ५६ करोड रुपैयाँ र ब्राजिलबाट ९ अर्ब ४ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् । अमेरिकाबाट पनि ८ अर्ब ९३ करोड रुपैयाँ बराबरका वस्तु नेपाल भित्रिएका छन् । यस अवधिमा नेपालबाट अमेरिकातर्फ ६ अर्ब ९९ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन् ।

समग्रमा निर्यातमा उल्लेख्य सुधार देखिए पनि आयातको तुलनामा निर्यातको हिस्सा निकै कम छ । वनस्पति तेलजस्ता केही वस्तुमा केन्द्रित निर्यात संरचना र उच्च आयात निर्भरताका कारण व्यापार घाटा अझै ठूलो रहेको छ । निर्यातलाई दिगो रूपमा विस्तार गर्न उत्पादनमूलक क्षेत्रको क्षमता बढाउनु, निर्यातयोग्य वस्तुको विविधीकरण गर्नु र स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता सुधार गर्नु चुनौतीका रूपमा देखिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय