☰

राज्य आतंक र गुण्डाराज चल्यो, आन्दोलनको विकल्प छैन : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको आरोप लगाउँदै आन्दोलनको तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार मनोनीत तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार निरंकुशतातर्फ अघि बढिरहेको आरोप लगाए । देशमा नागरिकले स्वतन्त्रताको उपयोग गर्न नसक्ने अवस्था सिर्जना भएको दाबी गर्दै उनले मुलुकलाई थप संकटमा जानबाट रोक्न आन्दोलन आवश्यक रहेको बताए ।

‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ,’ ओलीले भने, ‘देश कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ । यस अवस्थालाई थप बिग्रन नदिन आन्दोलनको तयारी गर्नुको कुनै विकल्प छैन ।’

सरकार बेलगाम फासीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै ओलीले देशमा नागरिकले खुलेर बोल्नसमेत नसक्ने गरी भयको वातावरण सिर्जना गरिएको दाबी गरे ।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई आफ्नो गन्तव्य बनाएको उल्लेख गर्दै उनले मुलुकलाई अहिलेको संकटपूर्ण अवस्थाबाट बाहिर निकाल्ने जिम्मेवारी पार्टीको काँधमा आएको बताए । सही नीति र विचारका आधारमा पार्टी एकताबद्ध तथा अनुशासित भएर अघि बढ्न सके जनतामा आकर्षण पुनः बढाउन सकिने उनको भनाइ थियो ।

गत वर्ष फागुन २१ गते भएको निर्वाचनलाई चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको ओलीले टिप्पणी गरे । एमाले सत्य, न्याय, देश र जनताको पक्षमा उभिएकाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले विजय हासिल गर्ने दाबीसमेत उनले गरे ।

कार्यक्रममा नवनियुक्त केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेलले सञ्चालन गरेको कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय