काठमाडौं । चक्रवात अर्नब कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा वर्षाको जोखिम कायमै रहेको छ । मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवातसँग सम्बन्धित बादल नेपालमा प्रवेश गरिसके पनि बिहीबार बिहानसम्म वर्षा सुरु भएको छैन ।
पोखरेलले बिहीबार दिउँसोदेखि वर्षा सुरु हुने र शुक्रबार भारी वर्षाको सम्भावना बढी रहेको बताएका छन् । विशेषगरी बिहीबार रातिदेखि शनिबार बिहानसम्म सतर्क रहनुपर्ने उनको भनाइ छ ।
बुधबारको तुलनामा बिहीबारको मौसम पूर्वानुमानमा जोखिममा रहेका जिल्लाको संख्या कम देखिए पनि मौसमी प्रणालीले ठूलो क्षेत्र ओगटेकाले जोखिम पूर्ण रूपमा नटरेको पोखरेलले बताएका छन् ।
उनका अनुसार माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखा (अपर लेभल ट्रफ) र चक्रवातबाट विकसित प्रणालीबीच अन्तरक्रिया हुँदा नेपालका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।
वर्षा हुने स्थान, समय र मात्रा परिवर्तन हुन सक्ने भएकाले मौसमको अवस्थालाई सामान्य रूपमा नलिन उनले आग्रह गरेका छन् । सम्भावित जोखिमबाट बच्न नियमित मौसम अपडेट तथा जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनामा ध्यान दिनुपर्ने उनको सुझाव छ ।