मुस्ताङ । नेपाल–चीन उत्तरी व्यापारिक नाका कोरलाबाट हुने आयात बढेसँगै मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को साढे तीन महिनामै कार्यालयले वार्षिक लक्ष्यभन्दा २ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि ९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा साउनदेखि कात्तिक १३ गतेसम्म ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व उठेको हो। यससँगै कार्यालयले आर्थिक वर्षको सुरुवाती साढे तीन महिनामै वार्षिक लक्ष्यको तुलनामा करिब २७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ।
भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार उक्त अवधिमा कोरलानाकाबाट २६ अर्ब १ करोड २३ लाख रुपैयाँ बराबरका वस्तु नेपाल आयात भएका छन्। नेपालबाट भने २८ करोड ६३ लाख रुपैयाँ बराबरका वस्तु चीनतर्फ निर्यात भएका छन्।
यस अवधिमा चीनबाट आयात गरिएका ६ हजार ५०१ वटा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको छ। विद्युतीय सवारीसाधनको आयातले समेत कोरलानाकाबाट हुने व्यापार विस्तारमा योगदान पुर्याएको देखिन्छ।
दसैँपछि नाकाबाट हुने आयात र राजस्व सङ्कलन थप बढेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। असोज २७ गतेसम्म ८ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा दसैँपछि थप ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ राजस्व उठेको हो।
त्यसैगरी, दसैँअघि कोरलानाकाबाट १० अर्ब ४० करोड ६९ लाख रुपैयाँ बराबरका चिनियाँ वस्तु आयात भएकामा दसैँपछि थप ६ अर्ब ७० करोड ५४ लाख रुपैयाँ बराबरका सामान नेपाल भित्रिएका छन्।
विद्युतीय सवारीसाधनको आयातमा पनि दसैँपछि उल्लेख्य वृद्धि देखिएको छ। साउनदेखि असोज २७ गतेसम्म ३ हजार ९२६ वटा ईभी आयात भएकामा दसैँपछिको १५ दिनमा मात्रै थप २ हजार ५७५ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको भन्सार अधिकृत सिंहले जानकारी दिए।
रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाकाबाट हुने आयात तथा निर्यात कारोबार बढेको भन्सार कार्यालयको भनाइ छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि व्यापारिक मार्ग परिवर्तन हुँदा सयौँ कन्टेनरका सामान कोरलानाकाबाट नेपाल भित्रिएका हुन्।
चीनसँगको उत्तरी व्यापारका लागि वैकल्पिक नाकाका रूपमा कोरलाको महत्व बढ्दै गएको छ। यही नाका हुँदै चीनबाट तयारी पोसाक, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, फलफूल, चाडपर्व लक्षित सामग्री तथा विद्युतीय सवारीसाधन आयात भइरहेका छन्।
गत वर्ष भदौ ३१ गते सरकारले नेपाल–चीन उत्तरी कोरलानाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो। रसुवागढी र तातोपानी नाकामा अवरोध कायम रहँदा कोरलानाकाबाट बढेको व्यापारले मुस्ताङ भन्सारको राजस्व सङ्कलनमा समेत उल्लेख्य योगदान पुर्याएको छ।
गत आर्थिक वर्षमा मुस्ताङ भन्सार कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।