☰

अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने नेपालको समय तीन वर्ष पछि सर्‍यो

काठमाडौं । नेपाल अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति हुने समय तीन वर्ष पछि सरेको छ। संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

यसअघि नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यतालिका थियो। तर, आवश्यक आर्थिक, संरचनागत तथा संस्थागत तयारी पूरा गर्न थप समय माग गरेपछि राष्ट्रसंघले समयसीमा बढाउने निर्णय गरेको हो।

न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशनले प्रस्ताव ८१/एल.८ पारित गरेसँगै नेपालले स्तरोन्नतिका लागि थप तीन वर्षको समय पाएको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले प्रस्ताव पारित गर्न सहयोग र ऐक्यबद्धता जनाउने सदस्य राष्ट्रहरूप्रति आभार व्यक्त गरेको छ।

थपिएको अवधिमा उत्पादन क्षमता विस्तार, संस्थागत आधार सुदृढीकरण तथा सहज संक्रमण रणनीतिको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिने नेपालले जनाएको छ। त्यस्तै, दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० को कार्यसूची र दोहा कार्ययोजना कार्यान्वयनमा समेत जोड दिइनेछ।

अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालले हाल प्राप्त गर्दै आएका व्यापारिक सहुलियत तथा अन्तर्राष्ट्रिय विशेष सहयोगमा परिवर्तन आउन सक्ने भएकाले सरकारले तयारीका लागि थप समय माग गरेको थियो। आर्थिक उत्थानशीलता, उत्पादन क्षमता र संस्थागत संरचना पर्याप्त रूपमा बलियो नबनाई स्तरोन्नति गर्दा अर्थतन्त्रमा चुनौती थपिन सक्ने सरकारको चिन्ता थियो।

यसअघि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्मा नेपालले निर्यात विविधीकरण, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र सहज संक्रमण रणनीति कार्यान्वयनमा अझै काम गर्न बाँकी रहेको जनाएको थियो।

विश्वव्यापी आर्थिक अनिश्चितता, जलवायु परिवर्तनका कारण बढेका विपद् तथा बाह्य आर्थिक संकटले स्तरोन्नतिको तयारी प्रभावित भएको धारणा नेपाल र बंगलादेशले राखेका थिए।

नेपालले थपिएको समयलाई सदुपयोग गर्दै सहज, दिगो र पुनः अतिकम विकसित मुलुकको अवस्थामा फर्कनु नपर्ने गरी स्तरोन्नति हासिल गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय