काठमाडौं । भारतले खानेतेल आयातमा भन्सार महसुल घटाएपछि नेपाली उद्योगबाट हुने खानेतेलको निर्यात प्रभावित भएको छ। चालु आर्थिक वर्षको साउनको तुलनामा असोजमा भटमास, सूर्यमुखी र पामतेलको कुल निर्यात मूल्य झन्डै १५ प्रतिशतले घटेको हो।
भन्सार विभागको तथ्यांकअनुसार साउनमा २० अर्ब ४९ करोड ३८ लाख रुपैयाँ बराबरको खानेतेल निर्यात भएकामा असोजमा घटेर १७ अर्ब ५० करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा निर्यात मूल्य २ अर्ब ९८ करोड ६७ लाख रुपैयाँले घटेको हो।
चाडपर्वका कारण बजारमा माग बढ्ने अपेक्षा गरिए पनि नेपाली खानेतेलको निर्यातमा सुधार आउन सकेको छैन। उद्योगीहरूका अनुसार भारतले तेस्रो मुलुकबाट आयात हुने कच्चा तेलमा भन्सार महसुल घटाएपछि त्यहाँका उद्योगले सस्तोमा कच्चा पदार्थ पाउन थालेका छन्। यसले नेपालमा कच्चा तेल आयात गरी प्रशोधन र प्याकेजिङ गरेर भारत निर्यात गर्ने उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएको छ।
नेपालको प्रमुख निर्यात वस्तुका रूपमा रहेको प्रशोधित भटमासको तेलको कारोबारमा समेत गिरावट देखिएको छ। साउनमा १७ अर्ब ९९ करोड ३४ लाख रुपैयाँको भटमासको तेल निर्यात भएकामा भदौमा केही बढेर १८ अर्ब ५ करोड २७ लाख रुपैयाँ पुगेको थियो। तर, असोजमा भने घटेर १६ अर्ब ५६ करोड ३६ लाख रुपैयाँमा झरेको छ।
त्यस्तै, सूर्यमुखी तेलको निर्यातमा पनि ठूलो गिरावट आएको छ। साउनमा १ अर्ब २० करोड ७५ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात भएकामा असोजमा ४५ करोड रुपैयाँमा सीमित भएको छ।
पामतेलको निर्यात पनि साउनको १ अर्ब २९ करोड २९ लाख रुपैयाँबाट घटेर असोजमा २९ करोड ६१ लाख रुपैयाँमा झरेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
नेपाली उद्योगहरूले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी नेपालमा प्रशोधन तथा प्याकेजिङ गरेर भारतीय बजारमा निर्यात गर्दै आएका छन्। नेपाल–भारत व्यापार सन्धिअन्तर्गत प्राप्त भन्सार सुविधाका कारण यस्तो व्यापार विस्तार भए पनि भारतीय सरकारले लिने आयात नीतिमा हुने परिवर्तनले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता प्रभावित हुने देखिएको छ।
अर्थविद् डा. चन्द्रमणि अधिकारीले आयातित कच्चा पदार्थको सामान्य प्रशोधन र प्याकेजिङबाट हुने मूल्य अभिवृद्धि सीमित रहने बताएका छन्। उनका अनुसार दीर्घकालीन रूपमा अर्थतन्त्रलाई लाभ पुर्याउन स्वदेशी कच्चा पदार्थ, सीप र विद्युत्को उपयोग गर्ने तथा रोजगारी सिर्जना गर्ने उत्पादनमूलक उद्योगमा लगानी बढाउन आवश्यक छ।
खानेतेल निर्यातमा देखिएको पछिल्लो गिरावटले भारतीय बजार र त्यहाँको नीतिमा निर्भर निर्यात व्यापारको जोखिमसमेत उजागर गरेको छ। त्यसैले निर्यातलाई दिगो बनाउन स्वदेशी उत्पादन र औद्योगिक मूल्य अभिवृद्धिमा जोड दिनुपर्ने देखिएको छ।