☰
  • गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • उद्योग/ कर्पोरेट ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र ,
  • पत्रपत्रिका

तीन महिनामा १६ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता उल्लेख्य रूपमा घटेको छ । साउनदेखि असोजसम्मको अवधिमा १६ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आधाभन्दा बढीले कम हो ।

उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२२ वटा उद्योग तथा परियोजनाका लागि १६ अर्ब २३ करोड १९ लाख ५५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो ।

स्वीकृत परियोजनामध्ये ४१० वटा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट र १२ वटा नियमित स्वीकृति प्रक्रियामार्फत आएका छन् । स्वचालित मार्गबाट १४ अर्ब ५८ करोड ६५ लाख ५५ हजार ७९६ रुपैयाँ र नियमित प्रक्रियाबाट १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको विभागले जनाएको छ ।

महिनागत विवरण हेर्दा साउनमा १९२ वटा परियोजनामार्फत ४ अर्ब ७७ करोड २८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । भदौमा १३६ वटा परियोजनाका लागि ६ अर्ब ३५ करोड १५ लाख रुपैयाँ प्रतिबद्धता प्राप्त भएको थियो ।

त्यस्तै, असोजमा ९४ वटा परियोजनामार्फत ५ अर्ब १० करोड ७५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । असोजमा प्रस्तावित परियोजनाबाट ५ हजार १२९ जनालाई रोजगारी उपलब्ध गराउने उल्लेख गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा भने ३५ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । गत वर्ष साउनमा करिब २४ अर्ब, भदौमा ९ अर्ब र असोजमा ३ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।

तर, चालु आर्थिक वर्षको सोही अवधिमा लगानी प्रतिबद्धता १६ अर्ब रुपैयाँमा सीमित भएपछि नेपालमा विदेशी लगानीकर्ताको आकर्षण कमजोर भएको देखिएको छ ।

पर्यटनमा सबैभन्दा बढी लगानी प्रतिबद्धता

क्षेत्रगत रूपमा हेर्दा लगानी रकमका आधारमा पर्यटन क्षेत्र विदेशी लगानीकर्ताको पहिलो रोजाइमा परेको छ । पहिलो तीन महिनामा पर्यटनसँग सम्बन्धित १०८ वटा परियोजनाका लागि ६ अर्ब ८ करोड २८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

ऊर्जा क्षेत्रमा दुईवटा परियोजना स्वीकृत भएका छन् । परियोजनाको संख्या थोरै भए पनि यस क्षेत्रमा ४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

त्यस्तै, सेवामूलक क्षेत्रमा ३३ वटा परियोजनाका लागि ३ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ र उत्पादनमूलक क्षेत्रमा २५ वटा परियोजनाका लागि १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

परियोजनाको संख्याका आधारमा भने सूचना प्रविधि क्षेत्र सबैभन्दा अगाडि देखिएको छ । कुल स्वीकृत ४२२ परियोजनामध्ये २५२ वटा सूचना प्रविधिसँग सम्बन्धित छन् । यो कुल परियोजनाको करिब ६० प्रतिशत हो ।

तर, सूचना प्रविधि क्षेत्रमा परियोजनाको संख्या धेरै भए पनि लगानीको आकार तुलनात्मक रूपमा सानो छ । यस क्षेत्रका परियोजनामार्फत ९२ करोड ८३ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

कृषि तथा वन पैदावर क्षेत्रमा दुईवटा परियोजनामार्फत ४ करोड रुपैयाँ लगानी प्रस्ताव भएको छ । खनिज तथा पूर्वाधार क्षेत्रमा भने पहिलो तीन महिनामा कुनै पनि वैदेशिक लगानी प्रस्ताव आएको छैन ।

साना उद्योगमा विदेशी लगानीकर्ताको बढी रुचि

पहिलो त्रैमासमा स्वीकृत वैदेशिक लगानीका परियोजनामध्ये साना उद्योगको हिस्सा अत्यधिक रहेको छ । विभागका अनुसार कुल ४२२ परियोजनामध्ये ४१७ वटा साना उद्योग रहेका छन् ।

त्यस्तै, मझौला उद्योग दुईवटा र ठूला उद्योग तीनवटा मात्रै स्वीकृत भएका छन् । यसले नेपालमा विदेशी लगानीकर्ताको प्रारम्भिक आकर्षण साना तथा कम लगानी आवश्यक पर्ने परियोजनामा बढी रहेको देखाउँछ ।

लाभांश र रोयल्टीबापत ठूलो रकम बाहिरियो

नेपालमा विदेशी लगानी भित्रिने प्रतिबद्धता घटिरहेका बेला सञ्चालनमा रहेका विदेशी लगानीका कम्पनीले भने लाभांश तथा रोयल्टीबापत ठूलो रकम बाहिर लगेका छन् ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म विदेशी लगानीकर्ताले लाभांशबापत १९ करोड ६४ लाख १६ हजार रुपैयाँ नेपालबाट लगेका छन् ।

त्यस्तै, रोयल्टीबापत नेपाली रुपैयाँ ९१ करोड ६६ लाख, अमेरिकी डलर ११ लाख ९० हजार (करिब १६ करोड रुपैयाँ) र भारतीय रुपैयाँ २ करोड ५७ लाख (करिब ४ करोड ११ लाख रुपैयाँ) बाहिरिएको छ । सेवा शुल्कबापत समेत थप रकम बाहिरिएको विभागले जनाएको छ ।

यस अवधिमा उद्योग विभागले १४४ जना विदेशी लगानीकर्ता, ९९ जना प्रतिनिधि तथा १५२ जना आश्रित परिवारका सदस्यलाई व्यावसायिक भिसाका लागि सिफारिस गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय