☰
  • गृहपृष्ठ /
  • Breaking News ,
  • उद्योग/ कर्पोरेट ,
  • मुख्य खबर ,
  • पूर्वाधार/यातायात

चाडपर्वमा गाडी आयात बढ्यो, ईभीको हिस्सा तीन चौथाइ

काठमाडौं । दशैँ र तिहारलाई लक्षित गर्दै नेपाली बजारमा सवारीसाधन आयात उल्लेख्य रूपमा बढेको छ। चाडपर्वको समयमा नयाँ गाडी खरिद गर्ने उपभोक्तालाई लक्षित गर्दै व्यवसायीहरूले असोज महिनामा मात्रै ९ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी मूल्यका चारपाङ्ग्रे सवारीसाधन आयात गरेका छन्।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा ५ हजार ५७ युनिट चारपाङ्ग्रे यात्रुवाहक सवारीसाधन नेपाल भित्रिएका छन्। आयात भएका सवारीसाधनमध्ये विद्युतीय गाडीको हिस्सा सबैभन्दा बढी देखिएको छ।

तथ्यांकअनुसार असोजमा ८ अर्ब ३५ करोड रुपैयाँ बराबरका ३ हजार ८०२ युनिट विद्युतीय सवारीसाधन आयात भएका छन्। कुल आयातित गाडीमध्ये विद्युतीय सवारीसाधनको हिस्सा करिब ७५ प्रतिशत रहेको छ। यसले नेपाली बजारमा विद्युतीय गाडीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको देखाउँछ।

यसैगरी, असोज महिनामा ७९ करोड रुपैयाँ बराबरका १ हजार ८३ युनिट पेट्रोल गाडी आयात भएका छन्। डिजेलबाट चल्ने ८४ युनिट गाडीको आयात मूल्य १८ करोड ५० लाख रुपैयाँ रहेको छ।

त्यस्तै, ३ करोड ७८ लाख रुपैयाँ बराबरका ९ युनिट पेट्रोल हाइब्रिड गाडी आयात भएका छन्। अन्य प्रकारका १३७ युनिट सवारीसाधन आयात गर्दा ११ करोड ५९ लाख रुपैयाँ खर्च भएको विभागको तथ्यांक छ।

एक महिनाको अवधिमा आयात भएका चारपाङ्ग्रे यात्रुवाहक सवारीसाधनबाट सरकारले ७ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। सवारीसाधन आयातबाट प्राप्त राजस्वले सरकारी आम्दानीमा समेत उल्लेख्य योगदान पुर्‍याएको देखिन्छ।

अटोमोबाइल व्यवसायीहरूका अनुसार नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा बुकिङ भएका सवारीसाधन ग्राहकलाई समयमै उपलब्ध गराउन ठूलो संख्यामा गाडी आयात गरिएको हो। चाडपर्वको समयमा नयाँ सवारीसाधन खरिद गर्ने उपभोक्ताको मागलाई समेत ध्यानमा राखेर व्यवसायीहरूले आयात बढाएका हुन्।

यद्यपि, चीनबाट हुने सवारीसाधन आयातमा भने नाका अवरोधले चुनौती थपेको छ। गत भदौ १० गते गएको बाढीपहिरोपछि रसुवा नाका बन्द अवस्थामा छ भने तातोपानी नाका पनि चीनतर्फबाट सञ्चालनमा आउन सकेको छैन।

दुवै प्रमुख नाकामा अवरोध हुँदा चीनबाट सवारीसाधन तथा अन्य मालसामान भित्र्याउन कोरोला नाका मात्रै विकल्पका रूपमा रहेको छ। यसले चीनबाट हुने सवारीसाधन आयात तथा आपूर्ति व्यवस्थापनमा थप कठिनाइ सिर्जना गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय