कर्जाको माग बढ्यो, एक महिनामा ४९ अर्ब कर्जा विस्तार

काठमाडौैं–कोभिड–१९को प्रकोप पछि नयाँ क्षेत्रमा लगानी नहुँदा बैंकमा तरलता थुप्रिएको अवस्थामा पछिल्लो समय बैंकहरुले लगानी विस्तार गरेका छन् । बजार खुलेर अर्थतन्त्र चलायमान हुन थालेपछि मंसिरमा कर्जा विस्तार बढेको छ ।

पछिल्लो चार साताको अवधिमा वाणिज्य बैंकहरुले ४९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । नेपाल बैंकर्स संघका मंसिर २५ गतेसम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । चाडपर्व सकिएपछि बैंकहरुमा कर्जाको माग बढेसँगै लागनी पनि बढेको हो ।

कोभिडबाट प्रभावित व्यवसायका लागि पनि राष्ट्र बैंकले सहुलियत कर्जा पनि विस्तार गरेको छ । कोभिडको औषधि आउने आशमा लगानीकर्तामा पनि आशा जागेको छ । रोकिएका परियोजना अघि बढाउन थालेका छन् । बजारमा पनि चहलपहल बढेको छ ।

सरकारले कोभिड–१९ बाट प्रभावित घरेलु, साना, मझौला उद्यम एवं पयर्टन क्षेत्रका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउन ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी गरिसकेको छ ।

सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता दिन सरकारले कर्जा प्रवाह गर्नका लागि नेपाल राष्ट्र बैंकलाई आवश्यक रकमको व्यवस्था गरेको छ ।

कोभिड–१९ बाट प्रभावित भई श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न नसकेका तथा कर्जाको अभावमा उद्योग व्यवसाय सञ्चालन गर्न समस्या परेका घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायलाई सहुलियत कर्जा प्रदान गर्न सुरु भएको छ ।

यता राष्ट्र बैंकले ६६ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरिसकेको छ । राष्ट्र बैंकले तोकेको मितिभित्र ६९ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जाका लागि आवेदन परेको थियो । सो मध्ये राष्ट्र बैंकले ६६ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको थियो ।

प्रतिक्रिया