रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
विश्वमा थुप्रै खाले रितिरिवाज र चाडपर्वहरु मनाइन्छन । प्राय सबै चाडपर्वहरु रमाइलो, आत्मीय शान्ति र खुसीयालीको अनुभुतिसंग जोडिएका हुन्छन । त्यस्तै ईण्डोनेशियामा पनि एउटा अनौठो चाड मनाइन्छ । तर झट्ट हेर्दा त्यो चाडले तपाँई हामीलाई खुसी नबनाउन पनि सक्छ । किनकी त्यहाँ मनाइने त्यो अनौठो चाडको सोझो सम्बन्ध पुराना मानव शवहरुसंग जोडिएको हुन्छ ।
ईण्डोनेशियाको एक जनजातीय समुदायले मनाउने त्यो चाडलाई ‘मा नेने फेस्टिभल’ भनिन्छ । यो चाड सय बर्षअघिदेखि सुरु भएको हो । यो चाड मनाउनुका पछाडी इण्डोनेशियाको बरप्पू गाउँका बासिन्दाहरु माझ एउटा पौराणिक कथा निकै प्रचलित छ । जसअनुसार सय बर्ष पहिले टोराजन जनजातीय समुदायका एक शिकारी जंगलमा शिकार गर्न गएका थिए ।
पोंग रुमासेक नामका ती शिकारीले जंगलकोबीचमा एउटा लास देखे । सडे गलेको अवस्थामा रहेको त्यो लास देखेर शिकारी रुमासेक बाटैमा रोकिए । उनले त्यो लासलाई आफ्नो कपडा लगाइदिएर अन्तिम संस्कार गरिदिए । यो घटनापछि शिकारी रुमासेकको जीवनमा ठूलो परिवर्तन आयो । उनका सबै दुख कष्टहरु हराए । समृद्धि छायो ।
यही घटनापछि टोराजन जनजातीय समुदायमा आफ्ना पूर्वजहरुको शव निकालेर सजाउने चलन सुरु भएको हो । यो समुदायको परम्परागत मान्यता अनुसार शवको सजधज गर्ने कामले पूर्वजहरुको आत्माले आर्शिवाद दिन्छन । यो चाड मनाउने कार्य कसैको मृत्युपछि सुरु हुन्छ । आफन्तजनको मृत्युपश्चात शवको अन्त्येष्टि नगरि कैयौं दिनसम्म उत्सव मनाइन्छ ।
टोराजन समुदायमा रहेको पौराणिक मान्यता अनुसार उत्सव मनाएर गरिने यो सबै काम मृत ब्यक्तिको खुसी र उसको परलोकको यात्रा सहज बनाउनका लागि गरिन्छ । मृतकको परलोक यात्रालाई उनीहरु ‘पुया’ भन्दछन । भैंसी र साँढेलगाायतका विभिन्न जनावरहरुलाई काटेर सिंगलाई मृतकको घरमा सजाउने चलन छ ।
जसको घरमा जति सिंग छ, उसलाई परलोकको यात्रामा त्यति नै सम्मान मिल्ने र परलोक यात्रा सहज हुन्छ भन्ने टोराजन समुदायको मान्यता छ । उत्सवमय पर्वको अन्त्यमा शवलाई जमिनमा गाड्नुको सट्टा काठको बाकसमा बन्द गरेर गुफाहरुमा राखिन्छ ।
यदी कुनै शिशु या १० बर्षभन्दा मुनिको बच्चाको मृत्यु भए उसको शव रुखको धोद्रो भित्र राखिन्छ । मृतकको शरीरलाई धेरै समयसम्म सुरक्षित राख्न विभिन्न प्रकारका कपडाहरु बेरिन्छ । यसका अलावा मृतकलाई फेसनेबल पोशाकहरु पनि पहिर्याइन्छ ।
शवको सजधजको काम सकिएपछि काठको बाकसमा बन्द गरेर पहाडी गुफामा राखिन्छ । प्रत्येक तीन बर्षमा शवलाई काठको बाकसबाट बाहिर निकालिन्छ । त्यो शवलाई पुनः नयाँ कपडा पहिर्याइन्छ । शवलाई संगै राखेर खानपिनको कार्यक्रम पनि हुन्छ । शवबाट निकालिएका कपडाहरु आफन्तजनले लगाउँछन । एवं तरिकाले कैयौं बर्षपछि शवमा हड्डी मात्रै बाँकी रहेपछि जमिनमा गाडिन्छ । स्रोतः डेली मेल अनलाइन ।