देशमा हाल पश्चिमी प्रणालीसँगै बङ्गालको खाडी र अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
ती क्षेत्रका पहाडी भू–भागमा केही स्थान र अन्य क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भेगमा पनि एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा भने हुरीबतास चल्न सक्ने अनुमान गरिएको छ।
रातको समयमा पनि मौसममा धेरै फरक नपर्ने देखिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी क्षेत्रका तराई तथा पहाडी भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना कायम छ। उच्च हिमाली क्षेत्रमा फेरि पनि एकदुई स्थानमा हिमपात हुने देखिएको छ। साथै, देशका तराई भूभागका केही स्थानमा हुरीबतासको सम्भावना यथावत् रहेको जानकारी दिइएको छ।