पछिल्लो साता सेयर बजारको कुल पुँजीकरण करिब ८३ अर्ब रुपैयाँले घटेको छ। चार दिन सेयर कारोबार हुँदा पनि प्रत्येक दिन नेप्से परिसूचक ओरालो लागेपछि बजारको कुल आकार खुम्चिएको हो। अघिल्लो बिहीबार ४४ खर्ब २७ अर्ब ५३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण घटेर यो बिहीबारसम्म ४३ खर्ब ४४ अर्ब ७० करोड रुपैयाँमा झरेको छ, जसअनुसार कुल पुँजीकरणमा ८२ अर्ब ८३ करोड रुपैयाँको गिरावट आएको छ। कुल सूचीकृत सेयरलाई त्यही दिनको मूल्यसँग गुणा गरेर बजार पुँजीकरण निकालिने भएकाले यसको गिरावटलाई लगानीकर्ताको सम्पत्ति घटेको रूपमा लिइएको छ।
गत साता नेप्से परिसूचक चारै दिन घट्दा जम्मा ४९.७९ अंकले ओरालो लाग्यो। अघिल्लो साताको अन्त्यमा नेप्से २६६१.६४ बिन्दुमा थियो भने यस साता २६११.८५ बिन्दुमा झरेको छ। आइतबार १२.५३, मंगलबार १४.८७, बुधबार १३.९६ र बिहीबार ८.४१ अंकले नेप्से घटेको तथ्यांक छ।
एक हप्तामा ३५ अर्ब ६५ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। ती कारोबारमध्ये जलविद्युत् समूहले एकल वर्चस्व कायम राख्दै १९ अर्ब ११ करोड ८५ लाख रुपैयाँको कारोबार गरेको छ। बैंक, बिमा र वित्तीय संस्थाले संयुक्त रूपमा ९ अर्ब ३४ करोड रुपैयाँको कारोबार गरेका छन्।
अन्य क्षेत्रको कारोबार विवरण हेर्दा, होटल तथा पर्यटन क्षेत्रमा १ अर्ब २७ करोड, इन्भेस्टमेन्ट समूहमा २ अर्ब ५४ करोड, उत्पादन तथा प्रशोधनमा १ अर्ब ११ करोड, सामूहिक लगानी कोषमा ७ करोड ३० लाख, अन्य उपसमूहमा १ अर्ब ३६ करोड, प्रमोटर सेयरमा ७२ करोड ६४ लाख र व्यापार समूहमा ९ करोड ९४ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
साताभर ३ लाख ८२ हजार ४७० पटक सेयर किनबेचका क्रममा ८ करोड १७ लाख कित्ता भन्दा बढी सेयर किनबेच भएको समेत तथ्यांकमा उल्लेख छ।