सरकारले नारायणी अस्पताल विकास समितिमा बिमल पौडेललाई सदस्यका रूपमा मनोनयन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार पौडेललाई तीन वर्षका लागि अस्पताल विकास समितिको सदस्य पदमा नियुक्त गरिएको हो। राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय पौडेल नेकपा (एमाले) पर्सा सचिवालय सदस्यसमेत हुन्। माओवादी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका उनले नेपाल खेलकुद महासंघमा केन्द्रीय सचिव, मधेस प्रदेश सह–इन्चार्ज तथा राष्ट्रिय युवा संघ पर्सामा पूर्व सह–इन्चार्जका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्।
सदस्य पदमा नियुक्त भएपछि पौडेलले नारायणी अस्पतालको सेवा प्रणालीलाई सहज, सुलभ र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्न सक्दो योगदान दिने बताउँदै अस्पतालको समग्र सुधारमा लागिपर्ने अठोट व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पौडेललाई अस्पताल सुधारमा सक्षम व्यक्तिका रूपमा सिफारिस गरेको बताइएको छ।
वीरगञ्जका सामाजिक र स्वास्थ्य क्षेत्रका सरोकारवाला निकायले पौडेलको मनोनयनलाई सकारात्मक रूपमा स्वागत गरेका छन्। अस्पतालमा पारदर्शिता, जनमुखी सेवा र परिणाममुखी प्रणाली विकासमा उनले नेतृत्वदायी भूमिका खेल्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्। उनको सामाजिक सक्रियता र प्रतिबद्धताका कारण स्थानीयले अस्पताल विकासमा उनको भूमिका प्रभावकारी हुने आशा व्यक्त गरेका छन्।