रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडाैं - साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक ओरालो लागेको छ। लगातार पाँच दिनदेखि गिरावटमा रहेको नेप्से आइतबार २.७९ अंकले घट्दै २६०९.०५ विन्दुमा पुग्यो। सोही दिन सेन्सेटिभ इन्डेक्स १.८३ अंकले, फ्लोट इन्डेक्स ०.२८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६९ अंकले घटेका छन्।
सूचक घटे पनि कारोबार रकम भने बढेको छ। गत बिहीबार ७ अर्ब ८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो भने आइतबार ३०९ कम्पनीका ७९ हजार ८९३ पटकको कारोबारमा १ करोड ६९ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँ नाघेको छ।
ओम मेगाश्री फर्मास्यूटिकल्स र छ्याङ्दी हाइड्रोपावरका शेयरहरू सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। यस्तै, विन नेपाल लघुवित्तको शेयरमूल्य ९.५३ प्रतिशतले, नेपाल पुनर्बीमा कम्पनीको ८.४१ प्रतिशतले र बाराही हाइड्रोपावरको करिब ७.३२ प्रतिशतले उकालो लागेको छ। भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.७१ प्रतिशतले घट्दै दिनको सबैभन्दा धेरै गिरावट भोग्यो।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो, जसको ७० करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५१ करोडभन्दा बढी र राधी विद्युत कम्पनीको करिब ४८ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ।
१३ वटा उपसमूहमध्ये ३ उपसमूहको सूचक बढ्दा १० उपसमूहमा गिरावट आएको छ। अन्य उपसमूहको सूचक ४.१९ प्रतिशतले वृद्धि भई अग्रता लिएको छ भने लघुवित्त उपसमूह पनि १ प्रतिशतभन्दा बढीले बढेको छ। यता, व्यापार उपसमूहको सूचक २.६८ प्रतिशतले घट्दै सबैभन्दा कमजोर प्रदर्शन गरेको देखिएको छ।