माेदीले नेपालीमा भने ‘फेरी भेट हाेला,नमस्कार’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको दशक भारत-नेपाल सम्बन्धको स्वर्णिम दशक बन्ने बताएका छन् ।

विराटनगरमा निर्मित एकीकृत सुरक्षा जाँच चौकी तथा नुवाकोट र गोरखामा पुनर्निर्माण गरिएका आवासीय घरहरूको उद्घाटन कार्यक्रममा मंगलवार भिडियो कन्फरेन्समार्फत मोदीले भारत-नेपाल सम्बन्ध यो दशकमा अझै माथि पुग्ने बताएका हुन् । आफ्नो सरकारको प्राथमिकतामा ‘छिमेकी पहिलो’ नीति रहेको भन्दै मोदीले भारत-नेपालको सम्बन्धमा ‘कनेक्टिभिटी’को ठूलो महत्त्व रहेको बताए ।

‘कनेक्टिभिटीको महत्त्व नेपाल र भारतका लागि ठूलो रहेको छ,’ भिडियो कन्फरेन्समार्फत मोदीले भने, ‘हाम्रो सम्बन्ध छिमेकीको मात्र होइन, इतिहास, भूगोल र संस्कृतिले हामीलाई धेरै ठाउँबाट जोडेको छ ।’

शुरुवातमा ‘कस्तो छ ?’ भन्ने प्रश्नसँगै बोल्न शुरू गरेका मोदीले नेपाल मात्र नभएर सबै छिमेकी देशसँग आवागमन सरल र सुचारु बनाउने र व्यापार, संस्कृति, शिक्षा इत्यादि क्षेत्रमा सम्पर्कलाई सुगम बनाउनका लागि भारत प्रतिबद्ध रहेको बताए ।

‘भारत र नेपालबीच धेरै क्रस बोर्डर कनेक्टिभिटी आयोजनाहरू जस्तै रेल, रोड र ट्रान्समिसन लाइनमा काम भइरहेको छ,’ मोदीले भने, ‘दुवै देशबीचको सीमाका प्रमुख स्थानमा एकीकृत सुरक्षा जाँच चौकीले आपसी व्यापार र आवागमनलाई सुविधाजनक बनाएको छ ।’

‘बीरगंज र विराटनगरमा आइसीपी निर्माण गरेका थियौं,’ उनले भने, ‘विरगंजमा सन् २०१८ मा उद्घाटन गरेका थियौं । अहिले विराटनगरको उद्घाटन गर्दैछौं । रक्सौल र जोगबेनीमा पहिल्यैदेखि छ ।’

२०७२ सालमा नेपालमा गएको भूकम्पलाई स्मरण गर्दै मोदीले नेपालमा परेको प्राकृतिक विपदमा भारतले सधैं साथ दिने बताए । ‘२०१५ को भूकम्प एउटा दर्दनाक दुर्घटना थियो,’ उनले भने, ‘भूकम्प जस्तो प्राकृतिक विपदले मानव जीवनको परीक्षा लिने गर्छ । प्रत्येक भारतीयले गर्व गर्ने एउटा कुरा के छ भने यो त्रासदीको दुखद परिणामलाई हरेक नेपाली दाजुभाइ र दिदीबहिनीले साहसका साथ सामना गरे ।’

उनले भारत-नेपाल सहयोग अन्तर्गत ५० हजारमध्ये ४५ हजार घर निर्माण भइसकेको मोदीले बताए । ‘हाम्रो आशा छ कि बाँकी घरको निर्माण पनि छिटै पूरा हुन्छ र नेपाली दाजुभाइ र दिदीबहिनीलाई छिटै समर्पित गर्न सकिन्छ,’ उनले भने ।

मोदीले केही दिनअघि देखि अन्नपूर्ण संरक्षित क्षेत्रमा आएको हिमपहिरोमा परी हराइरहेकाहरूको छिटै उद्दार हुने आशा गरेका छन् । सम्बोधनका क्रममा मोदीले माघे संक्रान्ति पर्व दुवै देशमा उत्तिकै उल्लासका साथ मनाइएको उल्लेख गरे ।

यसअघि मोतिहारी अमलेखगंज पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटन गरेको र ५ महिनाकै अन्तरालमा अर्को आयोजनाको संयुक्त उद्घाटन गर्न पाएकोमा आफू खुसी रहेको मोदीले बताए ।

मोदीले २०२० मा आफू नेपाल भ्रमण गर्ने बताए । ‘यो वर्ष मैले नेपाल भ्रमण गर्ने कार्यक्रम बनाएको छु,’ उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले मलाई नेपाल भ्रमणको निमन्त्रणा गरिरहनु भएको छ । मलाई दिएको निमन्त्रणामा म गर्व गर्छु ।’

उनले नेपालको भ्रमण गरेर नेपाली नागरिकको दर्शन गर्ने सौभाग्य हासिल गर्ने उल्लेख गरे । उद्घाटनको अन्तिममा मोदीले नेपालीमा बोल्दै भने, ‘अन्त्यमा तपाईंहरू लाई धेरै शुभकामना दिन्छु, फेरि भेट होला, नमस्कार !’

बिहान ११ बजे रहेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले अंग्रेजीमा सम्बोधन गरेका थिए । ओलीले नेपाल-भारतबीचको सम्बन्धलाई अझ उचाईंमा पुर्याउन निरन्तर छलफल र वार्ता गरिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

ओलीले सम्बोधनका क्रममा मोदीलाई नेपाल भ्रमणको निम्ता दिएपछि मोदीले नेपाल आएर नेपाली नागरिकको दर्शन गर्ने सौभाग्य हासिल गर्ने बताएका हुन् ।

प्रतिक्रिया