कोभिडले आर्थिक वृद्धि ३.९ प्रतिशतमा सिमित हुने


काठमाडौं– कोभिडको कारण मावनीय क्षतीसँगै अर्थतन्त्रमा पनि ठूलो क्षती भएको छ । कोरोनाको तेस्रो लहरले नेपाललको अर्थतन्त्रमा पनि असर पुग्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।  सन् २०२२ मा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) अर्थात आर्थिक वृद्धिदर ३.९ प्रतिशतमै सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोम तीव्र फैलन थालेकाले आर्थिक वृद्धिदर संकुचन हुने बैंकले प्रक्षेपण गरेको हो । यता, नेपाल सरकारले भने सात प्रतिशत वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य तोकेको छ । 

‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स’ मा बैंकले चालू आर्थिक वर्षभित्र दक्षिण एसियाका मुलुकहरूमध्ये नेपालमा तेस्रो कम आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । तालिबानी कब्जामा रहेको अफगानिस्तानबारे कुनै प्रक्षेपण नगरेको बैंकले श्रीलंकामा सबैभन्दा कम २.१, पाकिस्तानमा ३.४ र नेपालमा ३.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमानित तथ्यांक तयार गरेको हो । 


चालू आर्थिक वर्षभित्र दक्षिण एसियाली मुलुकमध्ये माल्दिभ्सले सबैभन्दा बढी अर्थात ११ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हासिल गर्नसक्ने देखिएको छ । नेपालको दक्षिणी छिमेकी भारतले ८.३, बंगलादेशले ६.४ र भुटानले ५.१ प्रतिशत जीडीपी वृद्धिदर हासिल गर्ने विश्व बैंकको सो प्रतिवेदनमा उल्लेख छ । 


कोरोनाको ओमिक्रोन भेरियन्टले विकासशील अर्थतन्त्रमा चर्को असर पार्ने बैंकले अनुमान गरेको हो । चुलिँदो मूल्यवृद्धि, उच्च सार्वजनिक ऋण, आय असमानतामा रुमलिएको यी अर्थतन्त्रलाई ओमिक्रोनसृजित नयाँ खतराले थप समस्यामा पार्नसक्ने बैंकको अनुमान छ । अनुमानअनुसार सन् २०२२ मा विश्वको औसत आर्थिक वृद्धिदर ४.१ र २०२३ मा ३.२ प्रतिशतमात्र रहनेछ । सन् २०२१ मा विश्वले ५.५ प्रतिशत वृद्धिदर हासिल गरेको थियो । 

ओमिक्रोन तीव्र गतिमा फैलिएकाले यो वर्ष अमेरिका र चीन पनि जीडीपी वृद्धि संकुचनमा फस्ने अनुमान गरिएको छ । विकासशील अर्थतन्त्रले आपूर्ति श्रृङ्खलामा अवरोध र मुद्रास्फीतिको चाप खेप्नुपर्ने बैंकले अनुमान गरेको छ । समस्या समाधान निम्ति प्रभावकारी नीतिगत उपायहरू अवलम्बन गर्न बैंकले सुझाएको छ ।
 

प्रतिक्रिया