हिम स्टार उर्जाको आईपीओ सर्वसाधारणका लागि खुला

हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन सुरु गरेको छ। असार २४ गतेदेखि खुला गरिएको यो प्राथमिक सेयर निष्कासन अन्तर्गत कम्पनीले कुल ७ लाख ७३ हजार ९७५ कित्ता सेयर बिक्रीमा ल्याएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको सेयरको बाँडफाँट सम्पन्न भइसकेको छ।

कम्पनीले कुल ११ लाख १९ हजार कित्ता सेयर निष्कासनको अनुमति पाएकोमा, कर्मचारीलाई १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषलाई ४६ हजार ६२५ कित्ता छुट्याइएको छ। सर्वसाधारणले भने न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन असार २७ गतेसम्म खुला रहनेछ, तर माग नपुगेमा साउन ६ गतेसम्म लम्बिन सक्छ।

इक्रा नेपालले कम्पनीलाई 'इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस' प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्छ। कम्पनीले ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जसको लागत १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी रहेको छ। सो आयोजनाको विद्युत अनुमतिपत्रमा अझै २७.७ वर्ष बाँकी छ। साधारण लगानी फिर्ताको अवधि ७.१४ वर्ष र छुटमा लगानी फिर्ताको अवधि ११.७५ वर्ष रहेको कम्पनीले जनाएको छ।

यो सेयर निष्कासनको व्यवस्थापन एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्दैछ। इच्छुक लगानीकर्ताले सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया