काठमाडौं । हरितालिका तीज पर्व नजिकिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतहरू सार्वजनिक हुने क्रम तीव्र बनेको छ। असार महिनाको अन्त्यमा रहेका किसानहरू खेत रोपाइँमा व्यस्त भए पनि कलाकारहरू भने तीज गीतमार्फत चाडको रौनक फैलाउन तल्लीन छन्।
यसवर्ष जापानमा बसोबास गर्ने कलाकारहरूले मात्रै एक दर्जनभन्दा बढी तीज गीत सार्वजनिक गरिसकेका छन्। नेपाल तथा अन्य मुलुकमा रहेका कलाकारहरूले समेत तीज गीतमा व्यापक लगानी गरेका छन्। अनुमानित रूपमा करिब ३०० हाराहारी तीज गीत यो वर्ष सार्वजनिक हुने अपेक्षा गरिएको छ। तीमध्ये केही गीतहरू उत्ताउला शैलीका भएका कारण पारिवारिक माहोलमा हेर्न मिल्दैन भने केहीले मौलिकता बोकेर श्रोताको मन जितिरहेका छन्।
यसैबीच जापानमा रहेका कलाकार केशव शर्माले मौलिक तीज गीत ‘रेलीमै’ सार्वजनिक गरेका छन्। गीतमा मानिसको जीवन संघर्ष, दुःख र अनुभूतिहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। गीतका शब्द अर्जुन सुवेदीले लेखेका हुन् भने लय केशव शर्माकै रहेको छ। केशव शर्मा र लक्ष्मी घतानको स्वर रहेको गीतमा सागर विरहीले संगीत संयोजन गरेका छन्।
गीतसँगै सार्वजनिक म्युजिक भिडियो पनि उत्कृष्ट रूपमा प्रस्तुत गरिएको छ। रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई निर्देशक कुमार केसीले निर्देशन गरेका हुन्। भिडियोमा कलाकार पार्वती श्रेष्ठ र गोविन्द विवशको अभिनय देख्न सकिन्छ।
‘रेलीमै’ जस्ता मौलिक गीतहरूले तीज गीतको मूल भावलाई जगेर्ना गर्न सहयोग पुगेको छ भने पारिवारिक रूपमा सुन्न र हेर्न मिल्ने गुणस्तर प्रस्तुत गरिदिएका छन्।