रसुवा जिल्लामा आएको अचानक बाढीले ठूलो जनधन तथा संरचनागत क्षति पुर्याएको छ। केरुङ, लेन्देखोला र भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, सुख्खा बन्दरगाह, भन्सार क्षेत्र, सीमा पुल र नेपाल विद्युत प्राधिकरण अन्तर्गतका विद्युत उत्पादन परियोजनामा ठुलो क्षति पुगेको छ।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको बाँधको एउटा गेट बगाउनुका साथै सोही आयोजनाको पुल चर्किएपछि आवतजावत ठप्प भएको छ। पावरहाउस भने सुरक्षित रहेको प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिएका छन्। ६० मेगावाट क्षमताको त्रिशूली ३ ए आयोजनाको भवनमा बाढी पसेको र ३ बी सबस्टेसन हिलोले ढाकिएको उनले बताए। चिलिमे पावरहाउसमा पनि पानी छरेको भए तापनि प्रमुख क्षति नभएको उल्लेख गरिएको छ। यस्तै, त्रिशूली किनारमा रहेको एक बाइपास टावरसमेत बाढीले बगाएको छ।
उक्त क्षतिको कारण त्रिशूली करिडोरमा रहेका विभिन्न आयोजनाबाट विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। प्राधिकरणका अनुसार करिब २०० मेगावाट विद्युत उत्पादनमा ठप्पी लागेको छ।
यसअघि बाढीले टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा क्षति पुर्याउनुका साथै भन्सार क्षेत्रमै राखिएका वा जाँच पास भएका केही विद्युतीय सवारी साधन बगाएको आशंका गरिएको थियो। त्यस्तै, नेपाल–चीन सीमा जोड्ने मितेरी पुलसमेत बगाइसकेको छ।
स्थानीय प्रशासनले त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढीका कारण उत्पन्न क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ।