काठमाण्डौ । चालु आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन संघिय राजधानीसमेत रहेको वाग्मती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ। सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ।
केन्द्रीय तथ्यांक विभागले गरेको आव २०७८÷७९ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी अध्ययनअनुसार कुल गार्हस्थ्य उत्पादनमा वाग्मती प्रदेशको हिस्सा ३६.९ प्रतिशत हुने अनुमान छ।
गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको ३६.७ प्रतिशत हिस्सा ओगटेको थियो। चालु आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ४८ खर्ब ५२ अर्ब रुपैयाँ हुने विभागको प्रक्षेपण छ। वाग्मती प्रदेशको कुल गार्हस्थय उत्पादन उपभोक्ता मूल्यमा करिब १७ खर्ब ९१ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ।
कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४.१ प्रतिशत छ। कर्णालीको उपभोक्ताको मूल्यमा १ खर्ब ९८ अर्ब रुपैयाँको हाराहारी हुने अनुमान गरिएको छ। चालु आवमा वाग्मतीपछि कुल गार्हस्थ्य उत्पादनमा बढी योगदान पुर्याउने प्रदेशमा क्रमशः प्रदेश १, लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश छन्।
कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आवमा राष्ट्रिय तहमा उपभोक्ता मूल्यमा ५.८ प्रतिशत अनुमान गरिएकामा वाग्मती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६.७ प्रतिशत र मधेस प्रदेशको वृद्धिदर सबैभन्दा कम ४.८ प्रतिशत रहने अनुमान गरिएको छ। संशोधित अनुमानअनुसार गत आवमा वाग्मती प्रदेशको वृद्धिदर सबैभन्दा बढी ४.६ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम ३.७ प्रतिशत रहेको थियो।
औद्योगिक वर्गीकरणअनुसार गत आव र चालु आवमा वाग्मती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी छ। वाग्मती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान बढी देखिन्छ। प्रदेशमा बढ्दो शहरीकरण, बढी जनसंख्या तथा राष्ट्रिय तहका ठूला व्यापारिक कारोबारका कारण व्यापार क्षेत्रको योगदान बढी देखिएको विभागले जनाएको छ।
राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सामा कायमै छ। वाग्मती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो छ। गण्डकी, कर्णाली, सुदूरपश्चिममा सार्वजनिक प्रशासन, सुरक्षा क्षेत्रको योगदान दोस्रो देखिन्छ। वाग्मती र मधेसबाहेक सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ।
चालु आवको ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा अनुमानित तथ्यांक सार्वजनिक गरिएको विभागले जनाएको छ। अनुमानित तथ्यांकअनुसार, सबै प्रदेशको आर्थिक क्रियाकलाप कोभिड–१९ महामारी संक्रमणपश्चात सामान्य अवस्थातर्फ फर्कन खोजेको विभागको निष्कर्ष छ।