काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ।
अनुशासन समितिको बुधबार बसेको बैठकले दुई पटकसम्म स्पष्टीकरण माग गर्दा पनि जवाफ नदिएको भन्दै यादवलाई सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।
यादवविरुद्ध फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपसहित उजुरी परेको थियो। सोही उजुरीमाथि छानबिनका क्रममा अनुशासन समितिले उनीसँग स्पष्टीकरण मागेको थियो।
समितिले वैशाख ३० गते पाँच दिनको र जेठ १२ गते तीन दिनको समयसीमा दिँदै स्पष्टीकरण सोधे पनि यादवले कुनै जवाफ नदिएको जनाएको छ।
अनुशासन समिति सचिव दिनेश थापा मगरद्वारा जारी निर्णयअनुसार घटनाबारे थप अनुसन्धान गरी अन्तिम निष्कर्षमा पुग्नुपर्ने भएकाले यादवलाई बारा जिल्ला सभापतिको जिम्मेवारीमा राखिरहँदा अनुसन्धान प्रभावित हुन सक्ने ठहर गरिएको छ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ (८) (ङ) तथा नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लंघन गरेको आरोपमा अन्तिम निर्णय नआउँदासम्म यादवलाई बारा जिल्ला सभापतिको हैसियतमा कुनै पनि कामकाज गर्न नपाउने गरी निलम्बन गरिएको समितिले जनाएको छ।