बजेटपछि पनि शेयर बजारमा उत्साह देखिएन, नेप्से २६ अंकले घट्यो

काठमाडौं । लगातार चार दिनको बिदापछि सोमबार खुलेको शेयर बजार दोहोरो अंकले घटेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि पहिलो कारोबार दिनमा बजार परिसूचक नेप्से २६ अंकले ओरालो लागेको हो।

बजेटमार्फत शेयर बजारलाई सकारात्मक सन्देश जाने अपेक्षा गरिए पनि त्यसको प्रभाव कारोबारमा देखिन सकेन। बजारमा आएको गिरावटले बजेटले लगानीकर्ताको मनोभावना पूर्ण रूपमा सम्बोधन गर्न नसकेको संकेत गरेको विश्लेषण गरिएको छ।

नेप्से घटे पनि कारोबार रकम भने स्थिर रहेको छ। आज कुल ५ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको शेयर खरिद–बिक्री भएको छ। कारोबारका क्रममा दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागे पनि २३३ भन्दा बढी कम्पनीको शेयर मूल्य घटेको छ।

क्षेत्रगत सूचकतर्फ गैर–बीमा र अन्य समूहबाहेक सबै उपसूचक राताम्मे बनेका छन्। विशेषगरी बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त तथा उत्पादनमूलक क्षेत्रका सूचकमा गिरावट देखिएको छ।

अर्थमन्त्रीले पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा गणना गर्ने घोषणा गरे पनि लगानीकर्ताले त्यसलाई पर्याप्त रूपमा सकारात्मक लिन नसकेको आजको बजार गतिविधिले देखाएको छ। बजेटपछिको पहिलो कारोबार दिनमै बजार घटेपछि लगानीकर्तामा अपेक्षित उत्साह देखिन नसकेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय