काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल–भारत सीमा विवादबारे बोल्दै भारतले मात्र नभई नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको जानकारी आफूले हालै पाएको बताएका छन्।
शनिबार संसद् बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले सीमा सम्बन्धी विषय आपसी संवादमार्फत समाधान खोजिने बताए। उनले भारत र नेपाल दुवै पक्षबाट भूमि अतिक्रमणसम्बन्धी विषयमा टेबल वार्तामार्फत छलफल गरिने उल्लेख गरे।
यद्यपि, नेपालले भारतको कुन क्षेत्रको भूमि अतिक्रमण गरेको भन्नेबारे प्रधानमन्त्रीले कुनै विवरण सार्वजनिक गरेनन्। नेपालका प्रधानमन्त्रीबाट आफ्नो देशले छिमेकी मुलुकको भूमि अतिक्रमण गरेको हुन सक्ने अभिव्यक्ति सार्वजनिक रूपमा आएको यो सम्भवतः पहिलो घटना मानिएको छ।
प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ। केही नेताहरूले प्रधानमन्त्रीसँग नेपालले भारतको भूमि अतिक्रमण गरेको दाबीको आधार र प्रमाण सार्वजनिक गर्न माग गरेका छन् भने पूर्वकूटनीतिज्ञहरूले पनि यस्तो विषयमा स्पष्ट तथ्य आवश्यक रहेको बताएका छन्।