काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले आज (जेठ २२ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँको ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको ७९ हजार कित्ता शेयर निष्काशन तथा बाँडफाँट गरिसकिएको छ।
यस्तै, कम्पनीले सामूहिक लगानी कोषका लागि ३९ हजार ५०० कित्ता र कर्मचारीका लागि १५ हजार ८०० कित्ता शेयर समेत बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरणअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो। उक्त शेयरको कुल मूल्य ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ।
आईपीओमा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ २७ गते तोकिएको छ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सी–आस्बा प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाएको छ।