अविवाहित अर्बपति स्वास्थ्य राज्यमन्त्री, कसरी भए २० अर्ब सम्पत्तिको मालिक ?


काठमाडौं–स्वास्थ्य राज्य मन्त्री भएपछि भोजपुरका उमेश श्रेष्ठको चर्चा चुलिएको छ । यसअघि निजी विद्यालय सञ्चालन हुँदै नेता बनेका श्रेष्ठ मन्त्री भए पनि विभिन्न टिका टिप्पणी भएका छन् ।  प्रधानमन्त्री देउवाले व्यापारी पृष्ठभूमिका श्रेष्ठलाई स्वास्थ्य मन्त्री बनाउपछि दुईथरी टिप्पणी भएका छन् । श्रेष्ठ अविवाहित पनि हुन् । एकथरीले अर्बौं रुपैयाँका मालिक भएकाले उनले व्यक्तिगत स्वार्थमा भन्दा राष्ट्रिय स्वार्थमा काम गर्नेछन् । अर्कोथरी राजनीतिमा लामो समय त्याग, बलिदान, योगदान गरेका सक्षम व्यक्ति हुँदाहुँदै देउवालाई विगत लामो समयदेखि आर्थिक रुपमा भरथेग गरेकाले मन्त्री बनाएको भनेर आलोचना गरेका छन् ।

आम जनमानसले पूर्व स्वास्थ्य मन्त्री सांसद गगन थापालाई स्वास्थ्य मन्त्री बनाउन माग गरे पनि देउवाले जनभावना कुल्चिएर आफ्ना आर्थिक सारथीलाई मन्त्रालय सुम्पिएका छन् ।लामो समयसम्म शिक्षा क्षेत्रमा लगानी गर्दै पछिल्लो समयमा विभिन्न क्षेत्रमा लगानी बिस्तार गरेका श्रेष्ठ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद समेत हुन् ।
भोजपुरमा जन्मिएका श्रेष्ठ ४२ वर्षअघि काठमाडौं आएका थिए । तत्कालीन समयमा २ हजार रुपैयाँ बोकेर राजधानी छिरेका उनी हाल २० अर्ब रुपैयाँको मालिक बनेका छन् । शिक्षा क्षेत्रमा सबैभन्दा धेरै लगानी गरेका उनले पछिल्लो समयमा बैंक, स्वास्थ्य, पर्यटन, कृषि र जलविद्युत् क्षेत्रमा पनि लगानी बिस्तार गरेका छन् । श्रेष्ठ यसअघि निजी विद्यालयहरुको संघ प्याब्सन र हिसानमा अध्यक्ष समेत भएका थिए । त्यसैगरी संविधान सभामा सभासद समेत थिए ।
प्राइम बैंकको सबैभन्दा ठूलो सेयरधनी उमेश श्रेष्ठ हुन् । १६ अर्ब चुक्ता पूँजी रहेको प्राइम बैंकमा उमेश श्रेष्ठले ३.१० प्रतिशत सेयर छ । यो भनेको ४९ लाख ८५ हजार ४३५ कित्ता सेयर हो ।

आइतबार प्राइम बैंकको सेयर मूल्य ५२९ रुपैयाँमा कारोबार भएको छ । यस आधारमा उमेश श्रेष्ठको नाममा रहेको सेयर हेर्दा प्राइम बैंकमा मात्रको उनको सम्पत्ति २ अर्ब ६३ करोड रुपैयाँ हुन्छ । संस्थापक र साधारण सेयरको मूल्य फरक हुँदा रकम भने फरक पर्छ । तर २ अर्बभन्दा बढीको सम्पत्ति उमेश श्रेष्ठको प्राइम बैंकमा मात्र छ । वार्षिक १५ करोडभन्दा बढी रकमको प्रतिफल उमेश श्रेष्ठले लगानी गरेको संस्थामा प्राइम बैंकबाट पाउने अवस्था छ ।श्रेष्ठले ललितपुरको लिटिल एञ्जल्ससँगै विभिन्न विद्यालय र कलेजमा पनि लगानी गरेका छन् ।


श्रेष्ठको लगानीमा ९ वटा जलविद्युत् आयोजना छन् । तीमध्ये अधिकांश जलविद्युत् आयोजना निर्माणको क्रममा छन् । त्यसबाहेक उनले पर्यटन क्षेत्रतर्फ चितवनमा सिराइचुली, सेन्ट्रलपार्क लगायतका होटलमा लगानी गरेका छन् भने धुलिखेलमा हालै निर्माण भइ सञ्चालनमा आएको हिमालयन दृश्य रिसोर्टमा पनि लगानी गरेका छन् ।
त्यसैगरी तनहुँमा घाँसी हेल्थ रिसोर्ट एण्ड वेलनेस सेन्टरमा लगानी बिस्तार गरेका छन् भने पोखरामा उनको लगानीमा नयाँ होटल निर्माण हुँदैछ । त्यसबाहेक उनले कृषि क्षेत्रमा पनि लगानी बिस्तार गरेका छन् ।


हाल उनको नेतृत्वमा जनमैत्री अस्पताल र महेन्द्र नारायण निधि अस्पताल सञ्चालनमा छन् । दुबै अस्पताललाई अत्याधुनिक अस्पताल बनाउने उनको योजना छ । अविवाहित श्रेष्ठले लिटिल एञ्जल्स विद्यालयलाई विश्वविद्यालय बनाउने र आफ्नो बाँकी सम्पत्ति ट्रस्टका नाममा राखेर सरकारलाई हस्तान्तरण गर्ने योजना समेत बनाएका छन् ।

भोजपुरका उनी चितवनबाट कांग्रेस क्रियाशील सदस्य छन्, २०७२ सालमा भएको १३ औं महाधिवेशनदेखि । श्रेष्ठले भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुरमा घर बनाएका छन् । चितवनमा उनको व्यवसाय पनि बिस्तार गरेका छन्। उनका होटल, कृषि फार्म र स्कुल छन् । 


संविधान निर्माणमा विज्ञहरूलाई ठाउँ दिन अन्तरिम संविधान २०६३ अनुसार मन्त्रिपरिषदबाट सांसदहरू मनोनित गर्ने व्यवस्थाको फाइदा उठाएर २०७१ सालमा श्रेष्ठ सांसद बनेका थिए । उनी त्यो बेला सांसद बन्नुमा पार्टीलाई गरेको आर्थिक सहयोग एक मात्र कारण थियो ।  


सुशील कोइरालामार्फत कांग्रेस छिरेका श्रेष्ठको सुरूदेखि नै सभापति शेरबहादुर देउवासँग राम्रो सम्बन्ध थियो । देउवाले नै आदिवासी–जनजाति कोटाबाट श्रेष्ठलाई समानुपातिकतर्फ सांसद बनाएका थिए ।

प्रतिक्रिया