काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले आयोनुनको मूल्य ३० प्रतिशतले बढाउँदै प्रतिकेजी २६ रुपैयाँ पुर्याएको छ। सरकारको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य तोकिएको हो। यसअघि प्रतिकेजी २० रुपैयाँ रहेको आयोनुनको मूल्य वृद्धि गरिएको छ।
साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले मूल्य समायोजन पछि एक केजी प्याकेट आयोनुनको थोक मूल्य २३ रुपैयाँ र उपभोक्ता मूल्य २६ रुपैयाँ भएको जानकारी दिएका छन्। उनका अनुसार यसअघि थोक मूल्य १८ रुपैयाँ ५० पैसा र खुद्रा मूल्य २० रुपैयाँ थियो। नुनको व्यापारमा घाटा भएको कारणले मूल्य समायोजन गरिएको र लागतभन्दा बिक्री मूल्य अझै कम रहेको उनले बताए।
राजभण्डारीले भने, "साल्ट ट्रेडिङले आठ वर्षपछि नुनको मूल्य समायोजन गरेको हो, यसलाई वृद्धि भन्न मिल्दैन। थोरै परिमाणमा खपत हुने भएकाले उपभोक्तालाई ठूलो असर पर्दैन। पछिल्लो आठ वर्षमा रेल भाडा नै तीन गुणा वृद्धि भएको सन्दर्भमा नुनमा गरिएको मूल्य समायोजन सामान्य मान्नुपर्छ।"
त्यस्तै, न्यु शक्ति नुनमा प्रतिकेजी पाँच रुपैयाँले वृद्धि गरिएको छ। अब न्यु शक्ति नुनको थोक मूल्य १७ रुपैयाँ र उपभोक्ता मूल्य २० रुपैयाँ हुने राजभण्डारीले बताए। यसअघि यो नुन प्रतिकेजी थोक १३ रुपैयाँ ५० पैसा र उपभोक्ता मूल्य १५ रुपैयाँ थियो। भानु नुनको उपभोक्ता मूल्य भने प्रतिकेजी नौ रुपैयाँ नै रहेको छ। दुर्गम क्षेत्रमा जाने भएकाले भानुको मूल्य समायोजन नगरिएको राजभण्डारीले बताए।
उपभोक्ता अधिकारकर्मीहरूले नुनको मूल्य एकैपटक ३० प्रतिशतले वृद्धि गर्नु उपयुक्त नभएको बताएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मूल्य समायोजन आवश्यक भए पनि वृद्धिदर धेरै भएको बताए। "एकैपटक ६ रुपैयाँ बढ्दा उपभोक्तालाई स्वाभाविक मार पर्छ," उनले भने, "नुन स्वास्थ्यसँग समेत जोडिएकाले राज्यले अनुदान दिएर यसको आपूर्तिलाई सहज र सुपथ बनाउनुपर्छ।"
नेपालमा वार्षिक दुई लाख २० हजार टन नुन खपत हुने गरेको साल्ट ट्रेडिङले जनाएको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा एक अर्ब ९३ करोड २७ लाख २६ हजार रुपैयाँबराबरको दुई लाख २५ हजार टन नुन आयात भएको भन्सार विभागको तथ्यांक छ।
भारतमा भन्दा नेपालमा सस्तो नुन पाउने साल्ट ट्रेडिङको दाबी छ। प्रवक्ता राजभण्डारीले सीमावर्ती क्षेत्रमा नेपालबाट भारतमा आयोनुन जाने गरेको जानकारी दिए। "नेपालमा भन्दा भारतमा नुन महँगो देखिन्छ, त्यहाँ केजीकै ४० देखि ५० रुपैयाँसम्म मूल्य रहेको पाइन्छ," उनले भने।
उपभोक्ता अधिकारकर्मी महर्जनले पनि नेपालमा नुनको मूल्य तुलनात्मक रूपमा कम रहेको बताए। उनले भने, "दुर्गम क्षेत्रमा नुन र चामलको नाममा राजनीति हुन्छ, तर त्यस्ता वस्तुको आपूर्ति सहज र सुपथ हुन सकेको छैन। सरकार जुनसुकै पार्टीको भए पनि नभई नहुने यस्ता दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज र सुपथ बनाउनुपर्छ।" नयाँ पत्रिका दैनिकबाट