ग्वार्को फ्लाइओभरको कालोपत्रको काम सुरु, जेठमै सञ्चालनको तयारी

काठमाडौं — ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर अन्तर्गत कालोपत्रको काम तीव्र गतिमा भइरहेको छ। करिब साढे तीन वर्षअघि, अर्थात् २०७८ सालको फागुन १२ गते सम्झौता भएको यो परियोजनाको संरचनागत निर्माण केही दिनअघि पूरा भएसँगै अब यसको अन्तिम चरण अर्थात् कालोपत्र सुरु गरिएको हो।

चार लेनको ३० मिटर स्पान रहेको पुल र करिब ५ सय मिटर लामो अप्रोच सडकसहित ग्वार्को फ्लाइओभर अन्तर्गत बालकुमारी र सातदोबाटोबाट र्याम बनाइएको छ। आजदेखि कोटेश्वरतर्फको खण्डमा कालोपत्र सुरु भइसकेको छ भने मौसमले साथ दिएमा सातदोबाटोको दिशामा पनि आज रातिनै कालोपत्र गरिने तयारी निर्माण पक्षले गरेको छ। त्यसका लागि ग्राभेल हाल्ने र कम्प्याक गर्ने कार्य भइरहेको छ।

निर्माण कम्पनीले कार्यलाई व्यवधान नआएमा यो जेठ महिना भित्रै फ्लाइओभर सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएको छ। परियोजना ईपीसी मोडेल अन्तर्गत बनाइएको हो, जसमा निर्माण कम्पनीले नै डिजाईन तयार पारी सडक विभागबाट स्वीकृति लिएपछि काम थालिएको थियो।

चक्रपथको चार लेन सडकको बीच खण्डलाई पर्खाल उठाएर माथिल्लो सतहमा फ्लाइओभर निर्माण गरिएको छ। यो फ्लाइओभरले मंगलबजार र इमाडोलतर्फ जाने सवारी साधनलाई पुल मुनीबाट सरल र अवरोधरहित रूपमा गुजार्ने सुविधा प्रदान गर्नेछ।

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले परियोजना सम्झौता अवधि भित्रै सक्न निर्देशन दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय