विमान चार्टर गरेर किन आए चिनियाँहरुको टोली ?

काठमाडौं–चिनियाँ अधिकारीहरु प्लेन चार्टर गरेर बुधबार राजधानी आएका छन् । विमान चार्टर गरेर १४ जनाको चिनियाँ टोली तराई द्रुतमार्ग आयोजना अन्तर्गत सुरुङमार्गको डिजाइन गर्न यहाँ आएको छ ।

विमान चार्टर गरेर आएका प्राविधिक हुन् । तराई द्रुतमार्गको ठेक्का पाएको च्याङदा इन्जिनियरिङ कर्पोरेशनले टनेल , हाइवे इन्जिनियर, व्यवस्थापक ल्याएको हो ।

सुरुङमार्गका दोस्रो प्याकेजमा मकवानपुरको धेद्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर गरी दुई सुरुङमार्ग र पुल निर्माण गर्नु विषयमा अध्ययन तथा डिजाइन तय गर्न टोली यहाँ आएको हो ।सेनाले चिनियाँ कम्पनीसँग करिब २८ अर्ब ५३ करोड रुपैयाँमा सम्झौता गरेको थियो ।

सेना आफैंले निर्माण गर्न नसक्ने भएपछि द्रुतमार्गमा बन्ने तीन वटा (करिब ६ किमी) सुरुङमार्ग चिनियाँ निर्माण कम्पनीबाट गराउन दुई कम्पनीसँग सम्झौता गरिसकेको छ ।

पहिलो प्याकेज निर्माण जिम्मा चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले पाएको छ । यो प्याकेजमा महादेवडाँडामा निर्माण हुने ३.३०० किलोमिटर सुरुङमार्गसहित मोटरेवल पुल र सडकको सेक्सन छ । करिब २१ अर्ब ६१ करोड रुपैयाँमा ठेक्का पाएको हो । पहिलो प्याकेजको निर्माण कम्पनी पनि छिट्टै आउने सेनाले जनाएको छ । यो कम्पनीको पनि एउटा टोलीले सर्भेको काम गरिरहेको छ ।

सेनाले ३ वर्ष ६ महिनामा सक्ने गरी दुवै ठेक्का लगाएको छ। ६ महिना डिजाइन र ३ वर्ष निर्माणका लागि समय राखिएको छ । ६ महिना डिजाइन सकेर निर्माण काम थाल्नुपर्ने चुनौती छ ।

प्रतिक्रिया