शेयर बजारको चलेखल रोक्न नयाँ नियम ल्याउने तयारी

काठमाण्डौ–शेयर बजारमा हुने चलखेल रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले केही नियम हेरफेर गर्ने तयारी गरेको छ । हाल दोस्रो बजारमा स्पेसल प्रि–ओपन सेसनमा कायम रहेको मूल्य घटबढको व्यवस्था परिमार्जन गर्ने तयारी गरेको हो ।

बोर्डले हाल व्यवस्था रहेको ५ प्रतिशत मूल्य घटबढको व्यवस्था परिमार्जन गर्ने तयारी गरेको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । प्रि ओपन सेसनमा ५ प्रतिशतको व्यवस्थामा व्यापक गुनासा उठेकाले घटाएर २ प्रतिशतमा झार्ने तयारी गरिरहेको उनले बताए ।

यद्यपि लगानीकर्ताहरुले भने प्रि–ओपन सेसन (बिहान १०ः३०–१०ः४५) हटाउनुपर्ने माग व्यापक रुपमा उठ्दै आएका छन् । प्रि–ओपन व्यापार चलखेल हुने र यसले गर्दा साना लगानीकर्ता मारमा पर्ने गरेको उनीहरुको भनाइ छ ।

प्रि–ओपन सेसन २०७५ चैत ७ गतेदेखि लागू भएको थियो । यो प्रणालीअनुसार कुनै पनि कम्पनी दोस्रो बजारमा सूचीकृत भएर पहिलो कारोबारका लागि स्पेसल प्रि–ओपसन सेसनमा सहभागी हुनुपर्छ । यदि नेप्सेले तोकेको रेन्जभित्र कुनै पनि कम्पनीको पहिलोपटक सेयर किनबेच भएमा मात्र नियमित सयमका लागि कारोबार खुल्छ ।

प्रि–ओपन सेसनको १५ मिनट अवधिको कारोबारमा लगानीकर्ताले ५ प्रतिशत भाउ बढाएर र ५ प्रतिशत भाउ घटाएर सेयर खरिदको लागि राख्न पाइन्छ । एक दिनको कारोबारका लागि खरिदबिक्रीको उच्चतम भाउ र न्यूनतम भाउ निर्धारण गरेर एउटा मूल्य (कटअफ प्राइस) निर्धारण हुन्छ ।

स्पेसल प्रि–ओपन सेसनमा हालको व्यवस्थापन परिमार्जन गर्ने विषयमा नेप्से पनि सकारात्मक रहेको छ। नेप्से प्रमुख चन्द्रसिंह साउदले पनि यस विषयमा केही परिमार्जन गर्न नेप्सेका तर्फबाट ३ वटा सुझाव सेबोनमा पठाइएको जानकारी दिए । साउदका अनुसार आउनु प्रि–ओपन सेसनलाई छुट्टै चलाउने, यसलाई रेगुलर मार्केटमा काउन्ट नगर्ने र हाल विद्यमान सेयरमूल्यमा ५ प्रतिशत घटबढ गर्न पाइने नियमलाई परिवर्तन गर्नुपर्ने गरी ३ वटा सुझाव धितोपत्र बोर्डमा पठाइएको छ ।

प्रतिक्रिया