शेयर बजारमा पहिरो गएपछि अर्थमन्त्रीको चासो, बजारमा आज सुधार होला ?

काठमाडौं–नेपाल धितोपत्र बोर्डले ५१ वटा सूचीकृत कम्पनी जोखिमपूर्ण रहेको भन्दै नाम सार्वजनिक गरे पछि शेयर बजारमा पहिरो गएको छ । शेयर बजार दिनहुँ ओरालो लागे पछि मन्त्री पौडेलले चासो राखेका हुन् ।

बजार लगातार घट्नु र सरोकारवालाहरुले समेत बोर्डले गरेको निर्णयलाई विरोध गर्दा अर्थमन्त्रीले यस विषयमा सोमबार धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग छलफल गरेका हुन् । बोर्डको आवश्यक कामले मन्त्रालय जाँदा मन्त्री पौडेलसँग सामान्य भेटभाटमा शेयर बजारको अहिलेको अवस्था र बोर्डको निर्णयबारे छलफल भएको अध्यक्ष ढुंगानाले बताए ।

बोर्डले सेयर मूल्यमा चलखेल तथा कर्नरिङ भएको आशंकामा ती कम्पनीहरुको सूची सार्वजनिक गरेको थियो । त्यसपछि विभिन्न लगानीकर्ताका संघले विज्ञप्ति नै जारी गरेर असन्तुष्टी जनाइरहेका छन् । ५१ वटा कम्पनीको बारेमा र सेयर बजारको अहिलेको अवस्थाबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

बोर्डले छोटो समयमै अस्वाभिक रुपमा मूल्य बढेका भएका कम्पनीलाई छनौट गरी अध्ययनको आधार बनाइ सोमा लगानी गर्दा आउने प्रतिफलको आधारहरु प्रष्ट पारेको जनाएको छ ।

बोर्ड ती ५१ वटा कम्पनीमा लगानी गर्दा आउने प्रतिफलको आधारहरु देखाउँदा बजारमा परेको प्रभावबारे अर्थमन्त्रीले चासो राखेको ढुंगानाले जानकारी दिए । बोर्ड चाडै नेप्सेमा सूचीकृत सबै कम्पनी लगानी वित्तीय प्यारामिटरसहित सूची सार्वजनिक गर्ने तयारी गरेको उनले अर्थमन्त्रीलाई जानकारी दिए । अर्थमन्त्री पौडेलले शेयर बजारमा असर पर्ने खालका कुनै क्रियाकलाप नगर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

बोर्डले अन्य कम्पनीहरुको पनि अध्ययन गरेको बास्तविकता बाहिर ल्याउने तयारी गरेको जनाएको छ । बजारमा केही सुधार हुने अपेक्षा गरिएको छ ।

सोमबारको सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार ६३ अंकले घटेको नेप्से परिसूचक सोमबार थप ७१.०६ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा २.४६ प्रतिशतले घटी हो ।

सोमबारको नेप्से परिसूचक कारोबार शुरु भएदेखि नै निरन्तर ओरालो लागेको छ । अघिल्लो दिन २९०५.३२ अंकमा अडिएको नेप्से परिसूचक सोमबार घटेर २८३४.४१ बिन्दुमा झरेको छ ।

बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार जम्मा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा २० करोड रुपैयाँले घटी हो ।

प्रतिक्रिया