२० करोड रुपैयाँको आईपीओ आउँदै

काठमाण्डौं–पुँजी बजारमा उतार चढाब आइरहेका बेला लघुवित्त कम्पनीले करिव २० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ करोड ७७ लाख रुपैयाँ बढीको आईपीओ यही असार ११ गतेबाट निष्कासन हुने भएको हो ।

संस्थाको १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । यो संस्थाको जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशत बराबरको आईपीओ हुनेछ ।

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमा ३० हजार ४२० कित्ता कर्मचारीका लागि र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन् ।

जीवन विकास लघुवित्तका आईपीओ निष्कासन बन्द छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बैंकिङ समयपछि हुनेछ ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । आईपीओमा नेपाल धितोपत्र बोर्डबाटी स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाकार्यालयहरु तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फ आवेदन दिन सकिनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्कासनका लागि यो लघुवित्तलाई इक्रा नेपालले (इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्रदान गरेको छ । यसले संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ । मोरङको कटारी गाउँपालिका वडा नं. २ मा केन्द्रीय कार्यालय रहेको यो संस्थाको आईपीओलाई नेपाल धितोपत्र बार्डले गत असार २ गते निष्कासन अनुमति दिएको थियो ।

प्रतिक्रिया