उद्योगी, व्यवसायीलाई कोरोना खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

काठमाडौैं–नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रसँग जोडिएको पक्षलाई खोप उपलब्ध गराउन माग गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहितको प्रतिनिधिमण्डलले उद्यमी व्यवसायी, श्रमिक, कामदार, कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

सो अवसरमा महासंघका तर्फबाट समग्र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीले निषेधाज्ञा र बन्दाबन्दीका समयमा अग्रभागमा रहेर उपभोग्य वस्तुहरुको निर्वाध उत्पादन र वितरणका लागि काम गरीरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको थियो ।

जीर्ण भएको अर्थतन्त्रको चक्का चलाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पुरा गर्न समेत यो वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्नुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिनु भयो ।

महासंघसंगको भेटवार्तामा मन्त्री तामाङले अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीहरूलाई पहिलो प्राथमिकतामा राखेर कोभिड विरुद्धको खोप उपलव्ध गराउने प्रतिवद्धता जनाए । कोभिडले समग्र अर्थतन्त्रनै जर्जर बनाएकाले अर्थतन्त्रलाई तत्काल तंग्रने वातावरण बनाउन यस क्षेत्रमा जोडिएका सबैलाई खोप दिई काममा फर्काउन जरुरी भएको बताए ।

प्रतिक्रिया