सर्वोत्तम सिमेन्टले ६५ लाख कित्ता शेयर दिने,आईपीओ कहिले ?

काठमाडौं–बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टले शेयरधनीलाई ६५ करोड रुपैयाँको बोनस शेयर दिने भएको छ ।

३ अर्ब ४० करोड पुँजी रहेको सर्वोत्तमले चुक्ता पुँजीको १९.११ प्रतिशत ६५ लाख कित्ता बोनस शेयर शेयरधनीलाई दिन विशेष साधारण सभा आह्वान गरेको छ । बोनस शेयर कर प्रयोजनका लागि चुक्ता पुँजीको १.००६ प्रतिशतले हुने ३ करोड ४२ लाख १० हजार पाँच सय २६ रुपैयाँ नगद लाभांश पनि प्रदान गर्ने प्रस्ताव सञ्चालक समितिको बैठकले पारित गरेको छ । बोनस शेयर दिने प्रस्ताव पारित गर्न आषाढ १० गते विशेष साधारण सभा आयोजना गरेको छ ।

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने तयारीका लागि सर्वोत्तमले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न बिक्री गर्न यस अघि नै प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।
कम्पनीले प्रतिकित्ता ७५० मूल्य तोकेको थियो । त्यसका लागि कम्पनीले १५ वटा आधार प्रस्तुत गरेको छ । कम्पनीका अनुसार दैनिक क्लिंकर उत्पादन क्षमता तीन हजार टन तथा वार्षिक दुई करोड बोरा सिमेन्ट उत्पादन क्षमता र कम चुक्तापुँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो व्यावसायिक उत्पादन सुरु गरेपछि नै नाफा कमाउँदै आएको र विगत ३ वर्षको औसत मुनाफा (करपछिको) वार्षिक १०४ करोड बढी भएको आधार प्रस्तुत गरेको छ ।

कम्पनीले ७५० मूल्यका लागि यी आधार प्रस्तुत गरे पनि योग्य संस्थागत लगानीकर्ताले यही मूल्य कायम गर्छन् भन्ने छैन । धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको योग्यता पाएका ७४ कम्पनीले बोलकबोल विधिबाट मूल्य निर्धारण गर्नेछन् ।

कम्पनीले संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्लाका बासिन्दालाई आठ लाख कित्ता, कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणलाई २८ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी छ । कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रक्रियामा छ । कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया