निषेधाज्ञा एक साता थपियो, यी क्षेत्र खुल्ने ?

काठमाडौं–कोभिड १९ संक्रमण अझै नियन्त्रणमा नआएको भन्दै उपत्यकामा एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञालाई केही खुकुलो पारिएको छ । तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताए । उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।

बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ । बैंकहरूको अरू शाखा खोल्नका लागि राष्ट्र बैंकमार्फत् कुरा गरेर कति दिन खोल्ने भन्ने राष्ट्र बैंककै प्रोटोकलअनुसार खोल्न सकिने पनि उनले बताए। सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ ।

प्रतिक्रिया