गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली नियुक्त , को हुन् नेपाली ?

काठमाडौं–गण्डकीको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि बहुमत जुटाएका पोखरेल मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेशम प्रमुख सिता पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

पोखरेललार्य कांग्रेससहित माओवादी, जसपा र जनमोर्चाको समर्थन छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत जुटाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ । हिजोको मतदानको आँकडाका आधारमा विपक्षी गठबन्धनलाई बहुमतमा लागि १ मत अपुग देखिएको थियो । मनाङेको समर्थनसँगै त्यो सुनिश्चित भएको हो ।

को हुन् कृष्णचन्द्र पोखरेल ?
नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनका बुबा प्रजातन्त्र सेनानी थिए ।

२००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् । उनी विभिन्न आन्दोलनमा ५–६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।
२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले–माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतल पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।

प्रतिक्रिया